काठमाडौँ, कात्तिक २३ गते । साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्याएकाे हो ।
प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ । कर्पोरेशनका व्यवस्थापक ब्रजेश झाका अनुसार हालसम्म चार सय ५० भन्दा बढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पोरेशनबाट लगिसकेका छन् । उहाँले भन्नुभयो, “काठमाडाैं उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले कर्पोरेशनबाट चिनी लिन सक्छन् ।” उहाँका अनुसार सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी एकसय १२ रुपैयाँ ५० पैसामा खुद्रा बिक्री कर्तालाई चिनी बिक्री गरेको हो ।
कर्पोरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी रु. ९७ मा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै कर्पोरेशनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको हो ।
दसैँ, तिहार, छठजस्ता मुख्य चाडबाडमा देशभर ३५ हजार मेक्ट्रिकटन चिनी खपत हुने गरेको आँकडा छ । तर सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा आम उपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आउने गर्दछन् ।
सरकारले कर्पोरेशनलाई भारतसँग जिटुजीमार्फत १० हजार मेक्ट्रिक टन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो । तर भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ । कर्पोरेशनले चिनी बिक्री वितरणलाई सहज बनाउन उच्च प्राथमिकता दिएको व्यवस्थापक झाले बताउनुभयो । रासस