• १३ साउन २०८१, आइतबार

भवन क्षतिग्रस्त, सेवा अवरुद्ध

blog

वासुदेव शर्मा 

जाजरकोट, कात्तिक २३ गते । भूकम्पका कारण जाजरकोटका तीन वटा सरकारी कार्यालयको सेवा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय भग्नावशेषमा परिणत भएपछि सेवा अवरुद्ध भएको हो । भूकम्पका कारण सरकारी कार्यालयहरू पूर्ण क्षतिग्रस्त भएपछि आइतबारदेखि सेवा प्रवाह हुन सकेको छैन । 

भेरी नगरपालिका–३, माथिल्लो थाप्लेमा रहेका नापी कार्यालय, मालपोत कार्यालयमा भग्नावशेषमा परिणत भएका छन् । जिल्ला प्रशासन कार्यालय घरका भित्ता फाटेर चिरा पारेपछि बस्न र भित्र पस्न नसकिने अवस्था छ । दुई वटा कार्यालयको सेवा अनिश्चित छ । नापी कार्यालयले उद्धार गरेका केही सामग्री शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा सारिएको छ । 

सर्वसाधारणसँग सम्बन्धित महत्वपूर्ण कार्यालय भूकम्पले ध्वस्त पारेपछि सेवाग्राही समस्यामा परेका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले दैनिक रूपमा पचासदेखि असी जना सेवाग्राही आएर भिड लाग्ने कार्यालय ध्वस्त भएपछि सेवा लिन आएका सर्वसाधारणलाई सेवा दिन नसक्ने भन्दै फिर्ता गर्नु परेको जानकारी दिनुभयो । 

अस्थायी आवास निर्माण गरी मङ्सिर दोस्रो सातादेखि सेवा प्रवाह गर्न सकिने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयका सबै जनशक्ति भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्ने कार्यमा केन्द्रित भएकाले तिहारअघि सार्वजनिक सेवा दिन नसकिने शर्माले बताउनुभयो । 

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जिल्ला प्रशासन कार्यालयले सेवा दिएको भवन पूर्ण रूपमा क्षति ग्रस्त भएपछि अस्थायी टहरा निर्माण गरी सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।

मालपोत कार्यालयका प्रमुख डिल्ली केसीका अनुसार भाडाबाट सेवा दिँदै आएको घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि महत्वपूर्ण स्रेस्ताहरू नष्ट भएको बताउनुभयो । सर्वसाधारणले सेवा लिने महìवपूर्ण कार्यालय भग्नावशेष भएपछि कार्यरत कर्मचारीसमेत चिन्तित बनेका छन् । भग्नावशेषबाट कार्यालयका सामग्री उत्खनन गरिदिन सुरक्षा निकायलाई आग्रह गरे पनि राहत र क्षतिग्रस्त संरचनाको तथ्याङ्क सङ्कलनमा लागेकाले केही समय पर्खिनुपर्ने सुरक्षा निकायले बताएको छ । 

नापी कार्यालयमा रहेका सबै सामग्री नष्ट हुनुका साथै कार्यालयमा कार्यरत अमिन एलिन भण्डारी र उहाँका भाइ प्रज्वल शाहीको भूकम्पमा परी मृत्यु भएको थियो । नापी कार्यालयका प्रमुख कृष्णप्रसाद ढकालका अनुसार भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो ।