• २२ असार २०८१, शनिबार

उपप्रधानमन्त्री श्रेष्ठ र फ्रिडम फन्ड टोलीबिच भेटवार्ता

blog

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र विश्वका धनीहरूको सङ्गठन फ्रिडम फन्डका पदाधिकारी तथा प्रतिनिधिबिच भेटवार्ता ।

काठमाडौं, कात्तिक २१ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा आएका विश्वका धनीहरूको सङ्गठन फ्रिडम फन्डका पदाधिकारी तथा प्रतिनिधिबिच आज गृह मन्त्रालय, सिंहदरबारमा भेट तथा अन्तरक्रिया सम्पन्न भएको छ । भेटमा नेपाल सरकारका प्राथमिकता र फ्रिडम फन्डले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको थियो ।

श्रमिक एवम् कामदारहरूमाथि हुने घरेलु, लैङ्गिक र आर्थिक हिंसाविरोधी अभियानमा सामाजिक संस्थामार्फत सहयोग पुर्‍याउँदै आएको फ्रिडम फन्डले नेपाल सरकारसँगसमेत सहकार्यको प्रस्ताव गरेको थियो । त्यसक्रममा टोली प्रमुख नताशा डोल्बी र प्रतिनिधिहरूले अनुचित लेनदेन (मिटरब्याज) नियन्त्रणसम्बन्धी कानुन निर्माण र लागू गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठप्रति आभार व्यक्त गर्नुभएको थियो ।


उपप्रधानमन्त्री श्रेष्ठले कृषि, हाइड्रोपावर, पर्यटन र जडीबुटी गरी नेपालको विकासका मुख्य चार क्षेत्रमा सहकार्य जरुरी रहेको बताउनुभयो। राजनीतिक परिवर्तनलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा एकाकार गर्ने मूल लक्ष्यमा वर्तमान सरकारको मूल जोड रहेको र सबै सहकार्य र सहयोगहरू त्यसैमा केन्द्रित होस् भन्ने चाहना आफूहरूको भएको उहाँले बताउनुभयो ।

सन् २०२६ देखि नेपाल विकासशील देशमा स्तरोन्नति हुने भएकाले पनि भौतिक र सामाजिक विकासको रफ्तारलाई अघि बढाउन सहयोगको खाँचो रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । टोली प्रमुख र प्रतिनिधिहरूले राजनीतिक परिवर्तन र भौतिक विकासलाई सामाजिक न्यायसहित अगाडि बढाउने सरकारको प्राथमिकताको प्रशंसा गर्नुभएको थियो । नेपालमा बालविवाहको दर घट्दै गएकोमा समेत उहाँहरूले खुसी व्यक्त गर्नुभयो ।

धेरै नेपालीहरू विदेश गइरहेको र त्यसले यहाँको विकास प्राथमिकतामा पर्नसक्ने असरबारेको उहाँहरूको जिज्ञासामा उपप्रधानमन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको माग पूरा गर्दा यस्तो देखिएको तर कमाउन जाने र कमाएर आउने क्रम उस्तै रहेको बताउनुभयो ।