• २८ पुस २०८१, आइतबार

लोकतन्त्रमा जिम्मेवार सरकारको अनुभूति हुने गरी काम गर्न राष्ट्रपतिको आग्रह

blog

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

जाजरकोट, कात्तिक २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुनेगरी भूकम्प प्रभावितहरूलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ । 

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न मङ्गलबार जाजरकोट पुग्नुभएका राष्ट्रपति पौडेलले जाजरकोटमा जनप्रतिनिधि, सर्वसाधारण र भूकम्प प्रभावितहरूसँगको छलफलमा अहिले नै सबै कुरा सोचविचार गरेर काम गर्न ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले तत्काल बसोबासका लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रबन्ध तथा दीर्घकालीन रूपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले अहिलेको कठिन अवस्थामा भूकम्प प्रभावितलाई ठग्ने र झुक्याउनेजस्ता गलत काम हुन सक्ने हुँदा त्यसबाट सचेत र सतर्क रहन पनि आग्रह गर्नुभयो । “तपाईँहरूको समस्या समाधानका लागि म सँगै छु, चिन्ता नगर्नुस्”, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्नुहुँदै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।

यसअघि राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए ।

उहाँले भूकम्प प्रभावितहरूलाई आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपतिको भनाइ उद्धृत गर्नुहुँदै सल्लाहकार पोखरेलले भन्नुभयो, ‘‘तपाईँहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्नुपर्दैन । म सरकारसँग कुरा गर्छु ।’’

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै, घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराउनुभएको थियो । 

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेतबाट जाजरकोट पुग्नुभएको हो । राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठबिसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनुहुनेछ ।

भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गर्नुभएको थियो । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी हुनुहुन्छ ।

यो पनि पढ्नुहोस