• १ जेठ २०८२, बिहिबार

विद्यालयमा ‘किताबरहित शुक्रबार’

blog

तानसेन समाचारदाता

तानसेन, कात्तिक २० गते ।  पाल्पाका विद्यालयले ‘किताबरहित शुक्रबार’ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई व्यावहारिक सिप सिकाएका छन् । जिल्लाको रामपुर नगरपालिकाभित्रका विद्यालयले किताबरहित शुक्रबार कार्यक्रम सञ्चालन गरेका हुन् । यहाँका विद्यार्थीलाई व्यावहारिक ज्ञान तथा सिप सिकाउने उद्देश्यले व्यावहारिक सिप सिकाएका हुन् । 

त्यस कार्यक्रम अन्तर्गत हरेक शुक्रबार परम्परागत ज्ञान तथा सिप सिकाइन्छ । यस्तै नयाँ प्रविधि र सिपका बारेमा समेत विद्यार्थीलाई व्यावहारिक रूपमा सिकाइने रामपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विद्यार्थीलाई व्यावहारिक ज्ञान र सिप एकै पटक सिकाउने गरी ‘किताबरहित शुक्रबार’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “विद्यार्थीलाई ज्ञान र सिपसहितको संस्कार पनि सिकाउन आवश्यक ठानेर हरेक हप्ताको शुक्रबार कोर्षभन्दा बाहिरको सिप सिकाउने गरिएको छ ।” यसबाट विद्यार्थीमा भएको कला, प्रतिभा, सिप तथा अन्तरनिहित क्षमताको विकास भएको नगर प्रमुख थापाको भनाइ छ । 

विद्यार्थीलाई विद्यालयमा दिइएको ज्ञान व्यावहारिक नभएकाले नगरपालिकाले यस्तो कार्यक्रम सञ्चालन गर्नु परेको उहाँले बताउनुभयो । कार्यक्रम अन्तर्गत व्यावहारिक ज्ञान र सिप सिकाउने गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । शाखा प्रमुख विकल काफ्लेले नगरपालिकाले लिएको शिक्षा नीति अन्तर्गत कार्यक्रम ‘किताबरहित शुक्रबार’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रमबाट विद्यार्थीको सिप र व्यवहारमा समेत परिवर्तन आएको उहाँले बताउनुभयो । 

नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त न्यौपानेले यो कार्यक्रम सञ्चालन भएपछि कार्यतालिका बनाएर विद्यार्थीलाई विभिन्न व्यावहारिक सिप सिकाउँदै आएको जानकारी दिनुभयो । विद्यार्थीमा रहेका प्रतिभाको पहिचान र विद्यार्थीको क्षमतालाई वृद्धि गर्न यो कार्यक्रमले सहयोग गरेको उहाँले बताउनुभयो । यो कार्यक्रमलाई यहाँका सामुदायिक र संस्थागत विद्यालयले कार्यान्वयन गर्दै आएका छन् ।