• १७ भदौ २०८१, सोमबार

स्थानीय आवश्यकता धान्ने सयपत्री फूल उत्पादन

blog

चितवन समाचारदाता

चितवन, कात्तिक २० गते । चितवन जिल्ला तिहारका लागि फूलको माला पुर्‍याउन सक्ने गरी आत्मनिर्भर बनेको छ । 

हरेक वर्ष भारत तथा अन्य जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्य यस वर्ष हुने पुष्प व्यवसायीले जानकारी दिएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति चितवनका सचिव सुलभ श्रेष्ठले जिल्लाको मागलाई यहाँको उत्पादनले पुग्ने बताउनुभयो । 

“तिहार पर्वमा मालाका लागि हामीले यहीँको उत्पादनले पूरा गर्न सक्छौँ तर सजावटका लागि धेरै माग भएमा अन्यत्रबाट ल्याउनुपर्ने हुन्छ,” उहाँले भन्नुभयो । जिल्लाका लागि तिहारमा मात्रै चार लाख मालाको माग रहेको छ । फ्लोरिकल्चर एसोसिएसनले गरेको अध्ययनमा सयपत्री मालाको माग धेरै रहेको छ । अहिलेसम्म चिस्यान केन्द्रमा राख्ने गरी माला आएको छैन । जिल्लाको उत्पादनले पु्ग्ने हामीले निष्कर्ष निकालेका छौँ । 

चितवनको माडी, भरतपुर, टाँडी, पहाडी क्षेत्रलगायतको स्थान गरेर ५० बिघा क्षेत्रफलमा फूल खेती गरिएको छ । ती स्थानमा उत्पादन भएको फूल यहीको बजारमा पु¥याउन सक्ने छौँ । सुनचाँदी पसल, अन्य पसल, घर, मन्दिरलगायतका स्थानमा सजावटका लागि धेरै माग हुन आएमा केही मात्रामा आयात गर्नुपर्ने हुन्छ । अहिलेसम्मको अवस्था हेर्दा माग धान्न जिल्लाले सक्ने छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले समेत सार्वजनिक तथा निजी जग्गामा गरी १० बिघामा सयपत्री फूल खेती गरेको छ । फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष तेजेन्द्र सापकोटाले तिहारका लागि मात्र फूल खेती नगर्न र फूलको बजार पाएनौँ भनेर चिन्ता नगर्न किसानलाई सुझाव दिनुभयो । “हाम्रो मागलाई यहाँको उत्पादनले अझै पुगेको छैन, फूल बिक्छ । काठमाडौँ, पोखरा पठाउन पनि सक्छौँ अथवा चितवनको बजारमै फूल खपत हुन्छ ।”

चाडपर्व आएपछि मालाको प्रयोग वृद्धि हुने भएकाले फूल उत्पादन गरेकाले चिन्ता लिन नपर्ने भन्दै उहाँले यो हप्तादेखि तिहारलक्षित गरी फूल बिक्री सुरु भएको बताउनुभयो । 

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६, भद्रकालीमा पाँच कट्ठा क्षेत्रफलमा फूल खेती गर्नुभएका स्थानीय नीराजन घिमिरेले थोरै लगानीमा धेरै आम्दानी हुने बताउनुभयो । “पाँच कट्ठा क्षेत्रफलमा फूल खेती गर्न ३५ हजार मात्र लगानी गरेको छु । यसबाट तीन लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको छु, जुन पूरा हुने छ,” उहाँले भन्नुभयो । एक पटक हुर्केको बिरुवाबाट चार पटकसम्म फूल उत्पादन गर्न सकिन्छ । तिहारलाई लक्षित गरी दुई हजार माला तयार हुने गरी फूल उत्पादन गरेको घिमिरेले जानकारी दिनुभयो ।  

बजारमा अहिले प्रतिमाला सय र प्रतिकिलो चार सय रुपियाँसम्ममा बिक्री हुने गरेको छ । बिक्री गर्न समस्या छैन, राम्रो फूल लिन बारीमा नै आउने गरेका छन्,” उहाँले बताउनुभयो ।