छविलाल पाण्डे
बुटवल, कात्तिक १९ गते । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउन आग्रह गरेको छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय बैठकको निर्णयबमोजिम बुटवलभित्रका सङ्घ संस्था तथा क्लबलाई एकीकृत रूपमा राहत सामग्री पठाउन आह्वान गरेको हो ।
बुटवल उपमहानगरपालिकामा आइतबार बसेको बैठकले बुटवलभित्रका सामाजिक सङ्घ संस्था, व्यक्ति र क्लबले पठाउने राहत सामग्री जाजरकोट र रुकुम पश्चिमसम्म पठाउन बुटवल उपमहानगरपालिकाले समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ ।
जाजरकोट र रुकुमपश्चिममा राहत सामग्री पठाउँदा अव्यवस्थित भएको र वितरणमा कठिनाइ भएकाले व्यवस्थित र एकीकृत रूपमा पठाउने र वितरण गर्ने सङ्घीय सरकारको तयारी बमोजिम एकीकृत रूपमा राहत सामग्री पठाउने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
प्रमुख पाण्डेयका अनुसार बुटवल उपमहानगरपालिकाले राहत सामग्री र भौतिक संरचना निर्माणका लागि तत्काल २५ लाख रुपियाँ सहयोग गर्ने र आवश्यकताअनुसार अन्य सहयोग गर्ने निर्णय गरेको छ ।
बुटवल उपमहानगरपालिकाको आह्वानमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा बुटवल उद्योग वाणिज्य सङ्घ बुटवल र रुपन्देही व्यापार सङ्घले १ लाख १ हजार १ सय ११ रुपियाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
यस्तै, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) लुम्बिनीले ५० हजार नगद र अन्य सहयोग गर्ने तथा पश्चिमाञ्चल ट्रक व्यवसायी प्रालि बुटवलले ४ वटा ट्रकको भाडा बराबर ४ लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै, मासु व्यवसायी सङ्घ, रेडक्रस सोसाइटी लगायतका संस्थाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुटवलभित्रका सङ्घ संस्थादेखि राहत दिन चाहनेसँग समन्वय गर्न बुटवल उपमहानगरपालिकाले फोकलपर्सन तोकेको छ । विपद् शाखाका प्रमुख योगेश चापागाईँसँग सम्पर्क गरी राहत तथा नगद उपमहानगरपालिकामा जम्मा गर्न सकिने बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो ।