• ९ मंसिर २०८१, आइतबार

बालबालिकाका लागि असल संस्कार कक्षा सञ्चालन

blog

बालबालिकालाई कुशल सीपहरू, आचरण सिकाइँदै । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, कात्तिक १९ गते । नवलपुरको गैँडाकोटमा बालबालिकालाई व्यवहारिक ज्ञान दिन असल संस्कार कक्षा सञ्चालन भएको छ । पछिल्लो समय सामाजिक परिवेशमा विकृति र विसङ्गति बढ्दैगएको समयमा बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले असल संस्कार कक्षा सञ्चालन गरिएको हो । 

गैँडाकोट नगरपालिका–१ मा रहेको श्रीवैष्णव परिषद्को भवनमा कक्षा सञ्चालन गरिएको छ । श्रीमद्भागवत वाचीका यशोदा आमाजीले बालबालिकालाई असल संस्कार, नैतिक ज्ञान र सँगै भजनकीर्तन पनि सिकाउने गर्नुभएको छ । उहाँले भन्नुभयो, “हरेक हप्ताको शनिवार बालबालिका एकै ठाउँमा भेला भई खेल्दै रमाउँदै दैनिक व्यवहारका उपयोगी संस्कार सिकाउने गरिएको छ ।”

“बालबालिकाहरू मोबाइलमा नै व्यस्त भइराख्ने जसलेगर्दा उनीहरूको शारीरिक मानसिक विकास हुन नसकेको अनि समाजमा घुलमिल हुन नसकेको धेरै अभिभावकबाट गुनासो आउनेगरेको थियो” उहाँले भन्नुभयो, “हाम्रो संस्कार, सभ्यता, अनुशासन, मर्यादा के हो भन्ने कुरा नै नयाँ पुस्ताका बालबालिकामा हराउँदै गएको हुनाले यो एकदमै आवश्यक ठानेर यहाँ प्रारम्भ गरेका हौँ ।”

असल संस्कार कक्षाले सबैभन्दा पहिला बालबालिकाको नियमित असल दैनिकी बनाउन पहल गरेको अनुश्री पौडेलको भनाइ छ । असल संस्कार कक्षामा बालबालिकाको रुचिअनुसार प्रविधिको प्रयोगमार्फत असल संस्कारहरू योग, ध्यान, प्राणायाम, व्यवहार कुशल सीपहरू, आचरण सिक्न पाउँदा खुसी लागेको पौडेलले बताउनुभयो ।  

किताबी ज्ञानभन्दा पनि व्यावहारिक असल संस्कारका कुरा छोराछोरीलाई सिकाउन पाउँदा अभिभावक पनि खुसी भएको सुशीला रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकाले घर परिवारदेखि अन्य मान्छेसँग कसरी मित्रवत् व्यवहार गर्ने, घरमा आएका पाउनालाई कसरी सत्कार गर्ने भन्ने विषय विद्यालयमा नहुने हुनाले असल संस्कार कक्षा उपयोगी बनेको छ ।”