• २८ पुस २०८१, आइतबार

भूकम्पको त्रास कायमै

पीडितसहित स्थानीयको चौरमा त्रिपालमुनि बास

blog

आठविसकोट नगरपालिका ९ मा त्रिपालमुनि बास बसेका स्थानीय । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक १८ गते । शुक्रबार राति गएको भूकम्पमा परी मानवीय र भौतिक क्षति व्यहोरेका रुकुमपश्चिमको आठविसकोट नगरपालिकाका स्थानीयहरुको त्रिपालमुनि बास भएको छ । 

दर्जनौ घरहरु भत्किएको, सयौ घरहरु चर्किएको  र फेरि पनि भूकम्प आउने त्रासका कारण स्थानीयहरु खुला चौरमा त्रिपाल टाँगेर बास बसेका हुन् । आठविसकोट नगरपालिका ९ मा रहनुभएका पत्रकार सत्य बटालाका अनुसार नगरपालिकाको करिब ३६० घर परिवार अहिले धान काटेको खुला खेतबारीमा त्रिपाल टाँगेर बास बसेका छन् । 

‘हामी पनि सम्पूर्ण परिवार खेतमा त्रिपाल टाँगेर बसेका छौ’ बटालाले भन्नुभयो, ‘हिजोको भूकम्पको त्रास र बस्न नमिल्ने अवस्थामा रहेका घरको कारण सबैजसो मान्छे घर बाहिरै बसेका छन् ।’ चिसो रात भएकाले बालबालिका र ज्येष्ठ नागरिकहरुलाई झन् स्वास्थ्य समस्या बढ्नसक्ने चिन्ता स्थानीयलाई छ ।  

अहिले आठविसकोट नगरपालिकाको वडा ९ राडिबजार र सिमबजार, वडा नम्वर ११ को चिसापानी, चौर र गोइरी, वडा नम्वर १२ को बगर, ठुलीबार्खु र सानीबार्खु, वडा नम्वर १३ को भल्मा, सवारी र गम्जा र वडा नम्वर १४ को छेपारे, बाँके जिउलालगायत स्थानमा स्थानीयहरु खुला चौरमा त्रिपाल टाँगेर बसिरहेका छन् । 

आठविसकोट नगरपालिका ९ का हरि पुनले सबैजसो घरपरिवारका सदस्यहरु खुला चौरमा सुतेको बताउनुभयो । अधिकांश मान्छेहरु घरमा भएका कपडाहरु बोकेर एकै ठाउँमा जम्मा भएर बसिरहेको उहाँले जानकारी दिनुभयो । 

भूकम्पपीडित तथा प्रभावितहरु सरकारले दिनभर प्रभावकारी रुपमा उद्धार र उपचारको काम गरेको र अब राहत वितरणको कामलाई प्राथमकिता दिनुपर्ने बताएका छन् । 

जाजरकोटको बारेगाउँ गाउँपालिका १ रामिडाँडामा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको भूकम्पका कारण आठविसकोट नगरपालिकामा मात्रै ४२ जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ । भूकम्पका कारण करिब ३ सय जना घाइते भएका छन् भने करिब दुई हजार घरमा क्षति पुगेको बताइएको छ ।