गजेन्द्र गुरुङ
खजुरा, कात्तिक १८ गते । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जाजरकोट भूकम्पपीडित घाइतेहरूको उपचारका लागि विशेषज्ञ टोली ‘हाइ अलर्ट’ अवस्थामा राखेको जनाएको छ ।
अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तका अनुसार डा. दिनेश श्रेष्ठको नेतृत्वमा उक्त ‘हाइ अलर्ट’ टोली तयारी अवस्थामा राखिएको हो । पन्तका अनुसार हाल एकसय जनाको उपचार गर्न सक्नेगरी डाक्टरहरूको टोली ‘हाइ अलर्ट’ अवस्थामा राखिएको हो ।
अस्पतालसँगै जोडिएको हेलिप्याडमा ६ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको समेत अस्पताल कर्मचारी कुश्मा बस्यालले जानकारी दिनुभयो । त्यसैगरी बिरामीलाई रगतको अभाव हुन नदिन समेत रगत सुरक्षित राखिएको अस्पतालले जनाएको छ ।
जाजरकोट घटनामा कसैलाई पनि ब्लड अभाव नहोस् भन्ने उद्देश्यले नेकपा (एमाले) ले रक्तदानका लागि आम नागरिकहरूसँग आह्वान गरेको छ । एमाले बैजनाथ गाउँ कमिटीले रक्तदान गर्न अस्पतालमा रहेको रक्त सञ्चार केन्द्रमा आएर रक्तदान गर्न आग्रह गरिएको नेकपा एमाले गाउँ कमिटी अध्यक्ष इन्द्र थापाले जानकारी दिनुभयो ।