• २० असोज २०८१, आइतबार

छठ पर्वका लागि गुह्रेश्वरीमा एक्जाभेटरको प्रयोग गरी बागमती सफा गरिँदै

blog

छठ पर्व नजिकिँदै गर्दा काठमाडौंको गुहे्रश्वरी क्षेत्रमा एक्जाभेटरको प्रयोग गरी बागमती सफा गरिँदै । तस्बिर : सागर बस्नेत

काठमाडौं, कात्तिक १७ गते । छठ पर्व नजिकिँदै गर्दा काठमाडौंको गुह्रेश्वरी क्षेत्रमा एक्जाभेटरको प्रयोग गरी बागमती सफा गरिँदै छ । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको हो ।

विशेषगरी तराईका जिल्लामा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रहरुमा समेत मनाउन थालिएको छ । छठ पर्वका लागि काठमाडौंको बागमती नदीका विभिन्न ठाउँ, अन्य पोखरी र कुण्डहरुमा घाट सजाउने गरिएको छ ।

यसै अवसर पारेर गुह्रेश्वरी क्षेत्रमा छठी माताको पूजाका लागि सरसफाइको सुरु भएको छ । एक्जाभेटरको प्रयोग गरी बागमती क्षेत्र सफा गरिएको हो ।


छठ पर्व चार दिनसम्म मनाइने चलन रहेको छ । यसको पहिलो दिनलाई अरबा अथवा नहाई खाय भनिन्छ । त्यस्तै, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ्य अर्थात् छठ भनिन्छ । यस वर्ष छठ पर्व मङ्सिर ३ गते मनाइँदै छ ।

कात्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो । यसको अन्तिम दिन अर्थात् चौथो दिनलाई विहनिया अर्घ्य पारण भनिन्छ ।

यो पर्वका यी चार दिन विभिन्न कामहरु गरिन्छ । अरबाको दिन गाउँका युवाहरु मिलेर छठ मनाइने नदी या ताल वा पोखरीको किनारलाई सजाउने, सडकहरु सफा गर्ने गर्छन् ।


यसको तेस्रो दिन अर्थात् सँझिया घाटको दिन साँझमा व्रतालुहरु त्यसरी सजाइएका खोला, नदी, तलाउ अथवा जलाशयको पानीमा आधा डुबेर अस्तान लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्छन् । अनि चौथो दिनको विहान सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ ।

छठको दिन विभिन्न समूह बनाएर सामूहिक रुपमा भजन गाउने र रमाइलो गर्ने चलन पनि रहेको छ । यस्तो गर्दा मैथिली भाषाका पारम्पारिक गीतसंगीतलाई बढी स्थान दिइन्छ ।