• २० असोज २०८१, आइतबार

कला संस्कृतिको जगेर्नामा मुगाली

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, कात्तिक १७ गते । बाँकेको चिसापानीमा रहेका मुगालीहरूले आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै आएका छन् । मुगुमा रारा राष्ट्रिय निकुञ्जको स्थापना भएसँगै २०३५ सालमा तत्कालीन सरकारले मुगालीलाई त्यहाँबाट स्थानान्तरण गरेर बाँकेको चिसापानीमा राखिएको थियो । महादेव मन्दिर व्यवस्थापन समिति चिसापानीका अध्यक्ष धनभक्त बुढाले आफ्नो मौलिक कला, संस्कृति, परम्परा, रीतिरिवाज र वेशभूषा नै आफ्नो पहिचान भएकाले आफ्नो परम्परालाई बाँकेको बसाइमा पनि निरन्तरता दिएको बताउनुभयो । उहाँले चिसापानीको बसाइसँगै आफ्नो पछिल्लो पुस्तालाई संस्कार र परम्पराबाट टाढा जान नदिन आफ्नो कला संस्कृतिलाई निरन्तरता दिएको बताउनुभयो । 

उनीहरूले विभिन्न कार्यक्रममार्फत आफ्नो संस्कार र संस्कृति झल्किने प्रस्तुति प्रदर्शन गरेर नयाँ पुस्तामा समेत प्रभाव कायम राख्ने कार्य गरिरहेका छन् । मुगालीको कला र संस्कृति संरक्षण गर्ने र परम्परालाई कायम राख्ने उद्देश्यले महादेव मन्दिर व्यवस्थापन तथा विकास समितिको आयोजना गरेर हरेक वर्ष दसैँ पूर्णिमामा मेला लगाउने गरिएको छ । समितिका सचिव आशा गुरुङले एकादशीको दिनदेखि पूर्णिमासम्म बस्तीमै सञ्चालन हुने मेलामा धामी नाच, देउडा, चौबन्दी खेलजस्ता कार्यक्रम गरेर आफ्ना कला संस्कृति र परम्परालाई जोगाउने काम गरिरहेको बताउनुभयो । 

उहाँले महादेव कुलदेवता मष्टा, भवानी र मालिकी मान्दै आएका चिसापानीका मुगालीले महादेवको मन्दिर स्थापना गरेर पूजाआजा गर्ने गरेको बताउनुभयो । पूर्णिमा मेलाको अवसरमा रातभर महिला पुरुष छुट्टाछुट्टै देउडा गाउने नाच्ने र बिहान फेरी देउडा प्रतियोगिता हुने र सफल सहभागीलाई पुरस्कार दिने आयोजक समितिले जनाएको छ । देउडा गीतबाटै आफ्ना भावना पोख्ने, सामाजिक, आर्थिक र राजनीतिक प्रहार गर्ने चलन पनि रहेको छ । छुट्टै पहिचान बोकेका मुगालीले पर्यटन प्रवर्धनमा टेवा पु¥याउनुका साथै मेला महोत्सवमा आफ्ना सांस्कृतिक झलक प्रस्तुत गर्दै आइरहेका छन् ।