• १५ वैशाख २०८१, शनिबार

मिठाईमा रङको प्रयोग सावधानीपूर्वक गर्न निर्देशन

blog

काठमाडौँ, कात्तिक १७ गते  ।  खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले तिहारका लागि बिक्री गरिने मिठाईलगायतका खाद्यवस्तुुमा रङको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै विभागले जथाभाबी अखाद्य रङको प्रयोग गरेर खाद्यवस्तु बिक्रीवितरण नगर्न सचेत गराएको हो ।

विभागले सूचनामार्फत चाडपर्वमा धेरै बिक्री हुने मिठाईलगायतमा स्वीकृत रङ मात्रै प्रयोग गर्ने र रङको मात्रा सरकारले तोकेको मापदण्ड अनुसार मात्रै प्रयोग गर्न आग्रह गरेको छ । विभागले भनेको छ, “अनुगमनका क्रममा अखाद्य रङको प्रयोग गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने छ ।” विभागका अनुसार खाद्य ऐनले रातो, हरियो, निलो र पहेँलो गरी चार प्रकारका रङ प्रयोग गर्न अनुमति दिएको छ । जसमा रातो पाँच प्रकारका, पहेँलो, निलो र हरियो दुई/दुई प्रकारका रङ छन् । 

यसैबिच काठमाडौँ महानगरपालिकाले तिहारमा अधिक प्रयोग हुने दुधजन्य खाद्यवस्तु तथा मिठाईको गुणस्तरीय उत्पादन र स्वच्छ बिक्रीवितरणको व्यवस्था मिलाउन व्यवसायीलाई निर्देशन दिएको छ । महानगरपालिकाले काठमाडौँ प्लाजामा मिठाई, दुधजन्य परिकार तथा खाजाका परिकार उत्पादन तथा बिक्री गर्ने व्यवसायीका सङ्घ संस्थाका प्रतिनिधिलाई बोलाएर यस्तो निर्देशन दिएको हो । छलफलमा महानगरपालिकाका अनुगमन संयोजक सुनिता डङ्गोलले महानगरले अनुचित क्रियाकलाप नगर्नेहरू अनुगमनसँग डराउन नपर्ने भन्दै महानगरले कारबाहीभन्दा सुधारका कामलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

छलफलमा सानातिना अवस्थामा सुधार गर्न नसक्दा व्यवसायको स्वच्छता सङ्कटमा पर्न सक्नेप्रति सचेत गराउँदै व्यवसायीलाई गुणस्तर र खाद्य स्वच्छतामा ध्यान दिन आग्रह गर्नुभयो ।

छलफलमा खाद्य विशेषज्ञ जीवनप्रभा लामाले खाद्य प्रविधि तथा गुण नियन्त्रणका लागि जारी भएका मापदण्डको पालना गर्नेमा व्यवसायी आफैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो । गलैँचा रङ्ग्याउन प्रयोग गरिने रङ मिठाईमा भेटिएको विगत अनुभव सुनाउँदै उहाँले गाढा रङ देखिएका खानेकुराबाट उपभोक्ता जोगिनुपर्छ भन्नुभयो ।

उहाँले मिठाई बनाउने र तयार पारिएका मिठाई जोगाएर राख्ने प्रक्रियाका विषयमा व्यवसायीलाई सुझाव दिँदै भन्नुभयो, “स्वच्छ कच्चा पदार्थको प्रयोग गरेर मिठाई बनाउनु, मह, घिउ जस्ता प्राकृतिक खाद्यवस्तुको प्रयोग गरेर संरक्षण गर्नु पर्छ ।” 

छलफलमा स्विट एन्ड स्न्याक्स एसोसिएसनका अध्यक्ष सुमन सायमीले दर्ता प्रक्रियामा आएर सरकारको मापदण्ड मान्छु भन्ने व्यवसायी पीडामा रहेको गुुनासो गर्नुुभयो । दर्ता नभएकाले गलत गर्छन् र उनीहरू कर पनि तिर्दैनन् भन्दै उहाँले त्यस्ता व्यवसायीका कारण कानुनमा रहेर काम गर्ने व्यवसाय नै बदनाम भएको र दर्ता प्रक्रियाबाट सुधारको थालनी गर्नु पर्छ भन्नुभयो । 

छलफलमा स्वस्तिक स्विट्स, पवन स्विट्स, टिपटप स्विट्स, उज्ज्वल डेरी, लक्ष्मी चाट हाउस, विश्रान्ति फुड्स, पूजा स्विट्स, साजन गोठ, नन्दन, बर्फी गोठ, गुलाब स्विट्स, पशुपति फुड्स, आँगन, रामेश्वर स्विट्स, कृष्ण फुड्सलगायत मिठाई तथा डेरीका सञ्चालकको सहभागिता थियो ।