• २५ वैशाख २०८१, मङ्गलबार

अर्थमन्त्री डा. महत र राज्यमन्त्री आनमेरीबिच भेटवार्ता

blog

अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बेलायतका परराष्ट्र राज्यमन्त्रीबीच भएको भेट । तस्बिर : करुण अर्याल

करुण अर्याल

लण्डन, कात्तिक १४ गते । अर्थमन्त्री डा. प्रकाश शरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ । 

लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनमा भाग लिन लण्डन आउनुभएका मन्त्री डा. महतले हरित ऊर्जा, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि आग्रह गर्नुभयो । उहाँले ग्लास्कोमा सम्पन्न कोप २६ पछि बेलायतको प्राथमिकता हरित ऊर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास आफूले लिएको बताउनुभयो । 

कोभिडले गर्दा नेपालको स्रोत साधनमा आएको कमजोरी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण वृद्धि भएकाले लगानीयोग्य पुँजीमा कमी भएकाले नेपालमा वाह्य लगानीको आवश्यकता रहेको उहाँले बताउनुभयो । 

जलवायु परिवर्तनका असरहरू सिर्जना हुनुमा नेपालको भूमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि पनि यस क्षेत्रमा लगानी आवश्यक रहेको पनि उहाँले बताउनुभयो । साथै, उहाँले बेलायतको निजी क्षेत्रबाट पनि थप लगानी बढाउन आग्रह गर्नुभयो । 

परराष्ट्र राज्यमन्त्री ट्रेभल्यानले बेलायत नेपालको विकास साझेदार रहँदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बेलायतबाट नेपालमा लगानी बढाउने कुरामा आफू सकारात्मक रहेको बताउनुभयो । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र दूतावासका द्वितीय सचिवको पनि सहभागिता थियो ।