• २८ पुस २०८१, आइतबार

हिमाल र हिमनदी जोगाउनैपर्छ: महासचिव गुटेरेस

blog

पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदा राष्ट्रसङ्घ महासचिव एन्टेनियो गुटेरेस । तस्बिर: फडिन्द्र अधिकारी

पोखरा, कात्तिक १४ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले नेपाल जस्ता देशहरूले औद्योगिक र धनी राष्ट्रहरूको क्रियाकलापको असर भोग्नुपरेको औँल्याउनुभएको छ । उहाँले जलवायु परिवर्तनमा कुनै भूमिका नहुने देशका बासिन्दा भोग्नुपरेका सङ्कट समाधान गर्न अन्तर्राष्ट्रिय साथ र सहयोग जरुरी हुने औँल्याउनुभयो ।

मङ्गलवार पोखरा विमानस्थलमा पत्रकारमाझ उहाँले आफ्नो नेपाल भ्रमणले विश्व समुदायलाई नै जलवायु परिवर्तनका असर कम गर्न अत्यावश्यक भएको सन्देश दिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “मेरो भ्रमणको विश्वलाई स्पष्ट सन्देश हो कि प्रकृति विरुद्धका क्रियाकलाप रोक्न जरुरी छ । नेपाल र अरू देशलाई सहयोग गर्नै पर्छ, जसका कारण जलवायु परिवर्तन भएको छैन तर उनीहरू त्यसको पीडा भोग्न बाध्य छन् ।” 

जलवायु परिवर्तनबाट धेरै समुदाय नराम्ररी प्रभावित भएको उल्लेख गर्दै उहाँले ती समुदायलाई अन्तर्राष्ट्रिय समुदायले साथ दिनुपर्नेमा उहाँको जोड छ । सोमबार बिहान अन्नपूर्ण बेस क्याम्प(एबिसी) जानुभएका महासचिव गुटेरेसले त्यहाँका स्थानीयसँग समेत कुरा गर्नुभएको छ । 

एबिसीका स्थानीयले जलवायु परिवर्तनका कारण भोग्नुपरेका कठिनाइहरू उहाँलाई सुनाएका थिए । एबिसीका होटेल रहेको क्षेत्र नै हिमनदीको कटानले जोखिममा परेको छ । नेपाली सेनाको हेलिकोप्टरमा त्यहाँ जानुभएका महासचिवलाई स्थानीयले जलवायु रोक्न ध्यानाकर्षण गराएको त्यहाँका पर्यटन व्यवसायी दिलीप गुरुङले जानकारी दिनुभयो । 

एबिसीबाट पोखरा फर्किनुभएका उहाँ पत्रकार सम्मेलनपछि पौने १० बजे नेपाली सेनाको विशेष विमानमार्फत लुम्बिनी प्रस्थान गर्नुभएको छ । महासचिव गुटेरेस सोमबार दिउँसो पोखरा आउनुभएको हो । उहाँले सोमबारे पुम्दीकोट भ्रमण र फेवातालमा बोटिङ गर्नुभएको थियो । महासचिव गुटेरेसको यो दोस्रो पोखरा भ्रमण हो । 

Author

रमेश पौडेल/फडिन्द्र अधिकारी