बुटवल समाचारदाता
बुटवल, कात्तिक १३ गते । विश्व सिमसार क्षेत्रमा सूचीकृत गैँडहवा तालको पुनर्निर्माण भएपछि तालको मुहार फेरिएको छ । लुम्बिनीदेखि १२ किलोमिटर उत्तरमा अवस्थित सो तालमा लुम्बिनी भ्रमण गर्न आउने पर्यटकलाई आकर्षित गर्ने योजनासहित पुनर्निर्माण गरिएको हो ।
तालको पुनर्निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । सेनाले तालको पुनर्निर्माण गरी गैँडहवा ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको छ । गैँडहवा ताल जैविक विविधता, सिमसार र पर्यटकीय दृष्टिले महìवपूर्ण मानिएको छ ।
तालको संरक्षण तथा पुनर्निर्माण नहुँदा अधिकांश भूभाग नासिँदै गएको थियो । सेनाले तालको पुनर्निर्माण गरेपछि ताल आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ । राष्ट्रपति चुरे–मधेश संरक्षण विकास समिति रसेना वन तथा पर्यावरण निर्देशनालयको सहकार्यमा भैरहवास्थित श्रीकालीभक्त गणले उक्त तालको संरक्षण तथा पुनर्निर्माण गरेको हो । तालको पुनर्निर्माणका लागि नेपाल सरकारको राष्ट्रपति चुरे–मधेश संरक्षण कार्यव्रmम अन्तर्गत गत आर्थिक वर्ष २०७९÷८० मा एक करोड ५० लाख रुपियाँ विनियोजन भएको थियो ।
ताल वरिपरिको क्षेत्रमा बोट प्लेटफर्म निर्माण, ताल गहिरो बनाउने, तालको चारैतर्फ ट्र्याक चौडा बनाउने र ग्राभेलिङ गर्ने कार्य सम्पन्न भएको छ । गैँडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले यो ताल रुपन्देही जिल्लाकै सबैभन्दा ठुलो ताल रहेको बताउनुभयो ।
अब पालिकाले लुम्बिनी आउने पर्यटकलाई यहाँ ल्याउन सके गैँडहवा गाउँपालिकाकै मुहारमा परिवर्तन आउने उहाँले बताउनुभयो । ८४ बिघा क्षेत्रफलमा फैलिएको यो तालमा वारिपारि रेलिङ लगाउने, तालमा घुम्न आउनेको सवारीसाधनको सुरक्षाका लागि व्यवस्थित पार्किङ निर्माण गरिएको छ ।
पालिका अध्यक्ष पौडेलले गाउँपालिकाले मात्रै तालको मर्मत संरक्षणमा दुई करोड रुपियाँ खर्च गरेको बताउनुभयो । स्थानीय बासिन्दाका अनुसार तालमा साइबेरियालगायत टाढा टाढादेखि विभिन्न प्रजातिका चरा बर्सेनि आउने गर्छन् ।
सो तालमा अहिले पनि विभिन्न ५० प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको छ । तालमा सानो खैरो, गोब्रे, हिमाली गिद्ध संरक्षण गरिएको छ । त्यसै गरी साइबेरियाली, सारस र बकुल्ला, चिरई, भँगेरा, ढुकुर, चित्रेलगायतका प्रजातिका चराको बासस्थान रहेको छ ।