• २० असोज २०८१, आइतबार

तालबाराही मन्दिर पुनः निर्माण सुरु

blog

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक १० गते । फेवातालको बिचमा रहेको प्रसिद्ध ताल वाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पुरातत्त्व विभागको समन्वयमा हुने पुनर्निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ । मन्दिर चार रोपनीमा फैलिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मन्दिरको जग पूजा गर्दै शिलान्यास गर्नुभएको हो । प्रमुख आचार्यले पोखराको गहना तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको औँल्याउनुभयो ।

उहाँले पुरानै स्वरूपमा मन्दिर पुनः निर्माण गरी आकर्षक सम्पदासहित भावी पुस्ताले समेत अध्ययन गर्ने थलो यसलाई बनाउनुपर्नेमा उहाँको जोड छ । “९ करोड रुपैयाँ लागतमा मन्दिर पुन निर्माण भएपछि तालबाराही अझ आकर्षक र पर्यटकीय केन्द्र बन्नेछ, यसका लागि महानगर आवश्यक समन्वय र साथ दिन तयार छ,” प्रमुख आचार्यले भन्नुभयो ।

२०७२ को महाभूकम्पका कारण भुईँ तलासहित तीन तले मन्दिर तीन इन्च दक्षिणतर्फ ढल्किएको थियो । मन्दिर ढल्किएपछि ताल वाराही मन्दिर गुठी व्यवस्थापन समितिले पुनः निर्माण थालेको हो । समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले यसका लागि पुरातत्त्व विभागबाट २५ लाख रुपैयाँ प्राप्त भएको जनाउँदै प्रदेश, स्थानीय र सङ्घ सरकार र भक्तजनको सहयोगमा पुरानै स्वरूपमा कलात्मक ढाँचामा मन्दिर बनाइने जानकारी दिनुभयो ।

मन्दिर पुनः निर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्त्व विभागबिच समन्वय गरी आवश्यक काम अगाडि बढाइने भएको छ । अहिले भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो । पुरानै शैलीमा कालिगड मगाएर मन्दिर पुनः निर्माण गरिँदै छ । 

तालबाराही मन्दिरलाई व्यवस्थित बनाउनका लागि गुरुयोजना तयार गरिएको छ । गुरुयोजना अनुसार यसको विकास गर्न नौ करोड लगानी हुने तालबाराही मन्दिर पुनः निर्माण परियोजनाका प्राविधिक संयोजक प्रा.डा. भरत पहारीले जानकारी दिनुभयो ।