• २० असोज २०८१, आइतबार

शक्तिपीठमा पुरानो कोटै कोटमध्येको सतौकोट

blog

अर्जुन काफ्ले

स्याङ्जा, कार्तिक ३ गते । कोटैकोटको जिल्लामा चिनिने स्याङ्जा जिल्लाको प्रसिद्ध तथा सबैभन्दा पुरानो कोटमध्येको एक कोट सतौँ (चण्डी स्थान) कोट हो । स्याङ्जामा आलमदेवी, गहौकोट जस्ता शक्तिपीठ रहेको पनि सतौकोट सबैभन्दा पुरानो हो । 

पुतलीबजार नगरपालिका नगरपालिका १४ मा रहेको सतौकोट विस ८६५ मा निर्मित मन्दिरलाई १७७० मा राजा दीर्घराज शाहीले पुनर्निर्माण गरी ढुङ्गाले छाउने काम गर्नुभएको थियो । 

शिरबम शाही र दीर्घवम शाही सम्म आइपुग्दा चामु शाही, तुला शाही, बहादुर शाही, छत्र शाही, पृथ्वी पति शाही, दावनल शाहीहरूले राज्य गरेको इतिहास छ । सतौँका पहिलो राजा वडाबम राव र दोस्रो मिचा खान थिए ।

बाइसे चौबीसे राज्यका राजाले आ–आफ्ना राज्यमा सुख र समृद्धिका लागि देवी देवताको आराधना गर्ने प्रचलन अनुरूप सतौँकोटे राजाहरू ले मन्दिर स्थापना गरी सतौँ चण्डी नामकरण गरिएको हो ।

 सतौका राजाको दरबार भनिने यस मन्दिरमा कालिका र भैरवको पूजा गरिन्छ भने अहिले पनि यसलाई दरबार नै भनिन्छ । 

मन्दिर दर्शनका लागि दैनिक दुई तीन सय मानिस सताैँ चण्डी आउने र दसैँ जस्ता विशेष चाडपर्वमा पाचँ सय  हजारकै सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । बडादशै नजिकै आएसँगै यहाँ भक्तजनको भिड लागेको छ । 

पाल्पा भगवती, बागलुङ कालिका, गोरखा मनकामना र सतौ कोट (चण्डी स्थान)को पूजा गर्ने विधि र पुजारी पनि एउटै जातको भएकाले एकै किसिमको शक्तिपीठ भएको अनुमान गर्न सकिन्छ ।

यहाँ रहेको सतौकोटको (चण्डी स्थान) को मन्दिर विसं २०४५ मा पुनर्निर्माण गरिएको हो । यहाँ मन्दिरको आसपासमा सतौँ चण्डी स्थान, सतौँकोट, पशुपतिनाथ मन्दिर छन् ।

यस मन्दिरमा पूजा वा दर्शनका लागि कास्की, पाल्पा, तनहुँ, पर्वत, बागलुङ, रुपन्देही, काठमाडौँलगायत टाढाटाढाबाट मानिसहरू आउने गर्दछन् । 

महाशिवरात्रि, बालाचतुर्दशी, दसैँ, चैतेदसैँ आदिमा यहाँ मेला लाग्ने गर्दछ । यहाँ पञ्च बली (राँगा, हाँस, पाठा, भाले, परेवा, सुँगुर) दिने चलन छ । यहाँ गहौसुर, रुपाकोट, बहाकोट, खिलुङकोट, नुवाकोट लगाएका दर्जनभन्दा धेरै शक्तिपीठ छन् ।