• १३ साउन २०८१, आइतबार

बदलिँदै दसैँ

blog

दसैँसँग जोडिएका विभिन्न पौराणिक कथा तथा श्रुतिमध्ये सबैभन्दा मानिएका र चल्तीका (देवीले दानवलाई र भगवान् श्रीरामले रावणलाई वध गरेका) दुवै लेख्य–कथ्य प्रमाणलाई ख्याल गर्दा दसैँको सुरुवात धार्मिक पर्वका रूपमा भएको अनुमान लगाउन सकिन्छ । अहिले पनि दसैँको सुरुको नौ दिन अर्थात् नवरात्रभर विभिन्न मठ–मन्दिरमा मात्रै नभएर घर घरमा पनि गरिने पाठ पूजाले अझै यसको धार्मिक महìव जीवन्त रहेको देखाउँछ । तथापि समग्रतामा मानिसको कट्टर धार्मिकपनामा आएको परिवर्तन र त्यसका कारक विभिन्न पक्षलाई विश्लेषण गर्दा अहिले आएर दसैँ धार्मिकभन्दा पनि बढी चाहिँ सामाजिक र सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको पाइन्छ । 

घर छोडेर पढाइ र कामका लागि बाहिर गएकाहरू घर फर्कने, घर सिँगारपटार गर्ने, अष्टमी–नवमीमा नजिकको मन्दिर र कोटमा पूजा गर्ने, बलि चढाउने, आफूभन्दा ठुलाबाट टीका र आशीर्वाद लिने तथा सानालाई लगाइदिने आदि दसैँको अभिन्न अङ्गका रूपमा रहिआएका परम्परा हुन् । नयाँ र राम्रो लुगा लगाउने, जसरी पनि घर फर्किएर ठुलासँग टीका र आशीर्वाद लिने मात्र होइन आफ्ना नातेदार, छिमेकी, साथीसँग भेटघाट र शुभकामना आदानप्रदान गर्ने पक्ष हेर्दा दसैँमा सामाजिक र सांस्कृतिक पक्षको राम्रोसँग सम्मिश्रण भएको पाइन्छ । सानातिना मतभेद भए पनि शुभकामना, सम्मान र आशीर्वाद लिन र दिन कन्जुस्याइँ नगर्ने उदार नेपाली संस्कृतिले गर्दा हाम्रा परम्परा केवल आलङ्कारिक महìव बोकेका मात्रै होइन कि फराकिलो मानवीय सोचले भरिपूर्ण पनि छन् भन्ने  देखिन्छ । दसैँ मनाउन गाउँघरमा फर्कने, एक ठाउँमा भेला हुने, बलि चढाउने, टीका लगाउनेलगायत निश्चित संस्कार र परम्पराको वार्षिक पुनरावृत्ति गर्ने चलनले गर्दा यस चाडले सामाजिक र सांस्कृतिक महत्वलाई झनै बढाएको पाइन्छ ।  

देशभित्र नै औपचारिक क्षेत्रमा काम गर्नेलाई जुनसुकै तहमा काम गर्ने भए पनि सम्बन्धित रोजगारदाताले दसैँ खर्चस्वरूप एक महिनाको थप तलब दिने,  दसैँका लागि सरकारलगायत धेरै रोजगारदाताले बिदा दिने, मानिसले दसैँका लागि भनेर केही महिनाअघिदेखि नै विभिन्न किसिमका तयारी गर्ने आदि दसैँसँग जोडिएका अभिन्न पक्ष देखिन्छन् । अझ अहिले आएर त उद्योग व्यापारको विस्तारका लागि पनि दसैँलगायत केही ठुला चाडपर्वलाई सम्बन्धित व्यवसायीले अवसरका रूपमा लिएको देखिन्छ । दसैँतिहारको व्यवसायको अवस्था आर्थिक गतिविधिको महत्वपूर्ण सूचक र चालकका रूपमा चित्रण गरिएको समेत देखिन्छ । अन्यथा यो वर्ष जस्तै निराशायुक्त समयका रूपमा लिएको पाइन्छ । भर्खरै हामीले देखेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि र तुरुन्तै प्रधानमन्त्रीको निर्देशनमा भएको सोको फिर्तालाई सँघारमा रहेको दसैँसँग जोडेर नहेरे पूर्ण रूपमा बुझ्न सकिँदैन । यस अर्थमा यसको सशक्त उपस्थिति र महत्व कसैबाट पनि लुकेको छैन । 

अहिले दसैँ धेरैका लागि मनोरञ्जन तथा बिदाको समानार्थी पनि भएको छ । अलिक उमेर भएका वा केही दसैँ मानिसकेका मानिसका लागि आफ्नो अनुभवको दायरा अनुसार यो विगतका आफ्नै पारिवारिक, स्थानीय तथा राष्ट्रिय स्मृतिहरूको पुनर्ताजगी गराउने एक किसिमको सम्झना–बिर्सनाको माध्यम र थलो पनि भएको पाइन्छ । दसैँ मनाउने चालचलनमा आएको परिवर्तनका कारणले मात्रै नभएर आफ्नो निजी, पारिवारिक जीवन तथा बदलिँदो सामाजिक परिवेशले गर्दा पनि दसैँ एक किसिमको मिश्रित अनुभवको पुञ्जका रूपमा रहेर मानिसको दैनिक जीवनमा जोडिएको पाइन्छ । दसैँसँग सम्बन्धित यी विविध पाटालाई हेर्दा यसको आयाम धार्मिक, सामाजिक र 

सांस्कृतिकबाट विस्तार भएर आर्थिक तथा राजनीतिक पाटोसम्म फैलिएको मात्रै होइन कि यी विविध आयामबिचको विभाजन एकदमै पातलो र छिपछिपे मात्रै छ भन्ने पनि देखिन्छ ।

मानिसको व्यस्तता र मौसमको अवस्थालाई हेर्दा दसैँ मनाइने समय पनि एकदमै उपयुक्त देखिन्छ । कृषिमा आधारित अर्थतन्त्र भएको समाजमा दसैँ मनाइने समयलाई हेर्दा निकै सोचविचार गरेर बुद्धिमत्तापूर्वक छानिएको देखिन्छ । मुख्य खेतीबाली रोपिसकिएको र अन्न भित्र्याउन नथालेको अवस्था सापेक्षित रूपमा फुर्सदिलो त छँदै छ गर्मी र वर्षा सकिएको तथा जाडो सुरु नभइसकेकाले गर्दा पनि यो समय उत्सव मनाउनका लागि झनै उपयुक्त देखिन्छ । यसै गरी दसैँको धार्मिक र सांस्कृतिक महत्वमा समयको उपयुक्तताका कारण सुनमा सुगन्ध थपे जस्तै भएको चाहिँ पक्कै हो तर यो मनोरञ्जनका लागि फुर्सदको सदुपयोग गर्दै मनाउन थालिएको चाडपर्व मात्रै चाहिँ होइन । 

दसैँ मनाउने तरिका पनि एउटा मात्रै छैन । यद्यपि मूल रूपमा एकथरी अलि धेरै जनाले मान्ने–मनाउने त छँदै छ । उदाहरणका लागि विजयादशमीको टीका कति बेला लगाउने, कोसँग पहिले लगाउने र कस्तो रङको लगाउने भन्ने नेपाली समाजको सामाजिक–सांस्कृतिक  विविधता झल्कने गरी फरक चालचलन भएको र यसमा अझ स्थानीयता र परम्पराले असर गरेको पनि पाइन्छ । मूल साइतका बेलामा घरमा मान्यजनसँग पहिले लगाउने कि मन्दिर र कोटबाट साँझमा आएको टीका लाएपछि घरमा लगाउने कि, राजा वा अन्य मान्यजन कसैसँग पहिले लगाउने हो भन्ने कुरा अहिले मात्र होइन, यसमा पहिलेदेखि नै विविधतायुक्त भएको र त्यसमा परिवर्तन पनि हुँदै आएको देखिन्छ । दसैँमा रातो टीका धेरैले लगाए पनि केही जातिले पहिलेदेखि अहिलेसम्म सेतो टीका लगाउने चलन रहिआएको पाइन्छ । 

पछिल्ला केही दशकलाई मात्रै हेर्ने हो भने पनि दसैँ मनाउने तरिका, दसैँका विभिन्न पक्षमा निश्चित रूपमा विस्तारै परिवर्तन हुँदै गएको देखिन्छ । नेपाली समाजको आधारभूत सामाजिक र आर्थिक अवस्थामा आएको सकारात्मक परिवर्तनका कारणले गर्दा हाल आएर धेरै मानिसका लागि मासुलगायत मिठो खाना खान र राम्रो लुगा लगाउन अब दसैँ नै कुर्नुपर्ने अवस्थाको अन्त्य भएको देख्न सकिन्छ । देशभित्रका आर्थिक गतिविधि, नगदमा आधारित काम र रोजगारको विस्तार मात्रै होइन कि बढ्दो मात्रामा रहेको वैदेशिक रोजगारमा संलग्न देशका विभिन्न ठाउँका युवा, प्रौढ तथा महिलाको नगद आम्दानीमा भएको सहभागिताका कारणले गर्दा धेरै परिवारलाई आधारभूत आवश्यकता पूरा गर्न अब दसैँ नै कुर्नुपर्ने छैन । यसको अर्थ सबै नेपालीको आर्थिक अवस्था यथेष्ट रूपमा ठिक ठाउँमा आइसक्यो भन्ने चाहिँ होइन । 

अहिले हाम्रा सामाजिक–सांस्कृतिक उत्सव तथा चालचलन मनाउने क्रममा आक्रामक बजारको प्रत्यक्ष असर परेको देखिन्छ । जसरी पनि धेरै खर्च गर्ने चलन बढ्दो देखिन्छ ।  हुन त बजार अर्थतन्त्र धेरै प्रभावशाली नभएको दशकौँअघिको अवस्थामा पनि ‘आयो दसैँ ढोल बजाई गयो दसैँ ऋण बोकाई’ भन्ने उखान यसै चलेको त होइन । नसकी नसकी खर्च बढी गर्ने चलन त उति बेला पनि भएको देखिन्छ । दसैँलगायतका हाम्रा चाडपर्व मनाउँदा देखासिकीभन्दा पनि आफ्नो क्षमतालाई ध्यान दिँदै बोझ नहुने गरी मनाउँदा नै वास्तवमा यस्ता चाडको महत्वलाई बढाउने हुन्छ । 

जसरी नेपाली समाज विकासको बाटो एकरेखीय र एकपक्षीय छैन । दसैँ मनाउने चालचलन पनि क्रमशः नयाँ रूपमा प्रकट हुँदै छ । अचेल दसैँ मनाउन धेरै जना विदेशबाट समेत स्वदेशमा आउँछन् भने कतिपय कामकाजी र व्यस्त मानिस दसैँ लागेपछि बिदाको सदुपयोग गर्दै देशभित्र र विदेशमा घुम्न जाने गरेको पाइन्छ । अब टीका लगाउन एकै ठाउँमा भेट्न नसक्नेले भिडियोको माध्यमबाट टाढाबाट नै टीका लगाएर चित्त बुझाएको देख्ने, सुन्ने मात्रै होइन कि भोग्नेको सङ्ख्या पनि बढ्दै छ । वैदेशिक रोजगारीमा संलग्न नेपालीको सङ्ख्या बढ्दै जाने क्रममा दसैँ अब नेपाली राजनीतिक–भौगोलिक सीमामा मात्रै सीमित छैन, अब नेपाली नपुगेको ठाउँ र दसैँलगायत चाडपर्व मनाउन संसारमा धेरै देश बाँकी छैनन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगले दसैँलगायत चाडपर्व मनाउनु अब निजी–पारिवारिक कुरा मात्र रहेन यो सामाजिक सञ्जालमा पोस्ट्याउनुपर्ने पर्वको अभिन्न भागकै रूपमा विकसित हुँदै छ ।

बसाइँसराइ र सामाजिक गतिशीलताले गर्दा अहिले नेपालभित्र पनि एउटा जातजाति आफ्नै भनी तथा मानिआएको थातथलोमा मात्रै बसिरहेका छैनन् । स्थायी वा अस्थायी जुनसुकै रूपमा अरू ठाउँमा सरे पनि मानिसले आफ्ना चाडपर्व, रीतिरिवाज आफू बस्ने ठाउँमा नै मनाउन थालेको पनि देखिँदै छ । त्यसैले तिनै किसिमका ल्होसार, उधौली–उभौली, माघी, होली, छठ तथा देउडा आदि कुनै निश्चित भौगोलिक क्षेत्रमा मात्र मनाउने गरी  सीमित छैन । परम्परागत रूपमा मनाई आएका जातजाति, धार्मिक समुदायबाहेक अरू समुदायका मानिस पनि ती चाडपर्व मनाउन सरिक भएको पाइन्छ । यस्तो नयाँ चलन सहिष्णु र विविधतायुक्त उदार नेपाली समाजको अर्को नवीन र सुन्दर गहना हो । यसलाई हामीले मलजल र जगेर्ना गर्नु पर्छ । आधुनिक राज्य र यसका सम्बन्धित सबै अवयव पनि यी विविध नवीन प्रवृत्तिका बारेमा निरपेक्ष बस्ने होइन कि तिनलाई गहन रूपमा अध्ययन र विश्लेषण गर्न सक्नु पर्दछ, आफ्नो समाज र संस्कृति कसरी परिवर्तन हुँदै छ भनेर चासो राख्ने र जानकार हुने क्षमताको पनि विकास गर्नु पर्छ ।  

दसैँ सामाजिक सद्भाव, सामाजिक अन्तरसम्बन्ध र अन्तव्रिर्mया बढाउने एक महìवपूर्ण सांस्कृतिक चाड रहिआएको छ ।  जसरी कसैलाई दसैँ या कुनै पनि आफ्नो चाड मनाउने छुट छ त्यस्तै गरी अरू कसैलाई यो चाड नमनाउने, मेरो चाड होइन भन्ने पनि छुट छ तर कुनै पनि सभ्य लोकतान्त्रिक समाजमा अरूले मनाउने चाडपर्वलाई विभिन्न किसिमका आरोप–प्रत्यारोप लगाएर त्यसको विरोध गर्ने वा सो मनाउन अवरोध गर्न छुट अपेक्षित छैन र गर्नु पनि हुँदैन । लोकतन्त्रमा आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको दायरालाई सङ्कुचित नबनाउनु हरेक सचेत नागरिकको महत्त्वपूर्ण कर्तव्य हुन आउँछ । यसैले नै दशकौँको सङ्घर्षबाट प्राप्त हालको सामाजिक, राजनीतिक प्रणालीलाई जीवन्त र अक्षुण्ण राख्न मद्दत गर्दछ । विविधता नेपाली समाजको विडम्बना होइन, यो त सुन्दर र अमूल्य सम्पत्ति हो, एकअर्काको सहअस्तित्वबाट मात्रै यसको जगेर्ना र संवर्धन हुन सक्छ । 

 

Author

कपिलबाबु दाहाल