• २० असोज २०८१, आइतबार

दमौलीमा एक महिने हिन्दु महामिलन पर्व सुरु

blog

अमरराज नहर्की

तनहुँ, कात्तिक १ गते । तनहुँस्थित दमौलीलाई विश्वभर परिचित गराउन एवम् धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यासको जन्मभूमि दमौलीमा एक महिने विश्व ओमकार तथा हिन्दु महामिलन पर्व सुरु भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा यो पर्व आयोजना गरिएको छ । 

महामिलन पर्वको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति विज्ञ तथा प्राज्ञिक डा.भक्त राईले उद्घाटन गर्नुभयो । सो अवसरमा राईले आधुनिकता र विकासको नाउँमा नेपाली संस्कृतिलाई बिर्सन हुने बताउनुभयो ।

उहाँले परम्परागत सीप, ऋषिमुनिबाट सिर्जित ज्ञानको भण्डारलाई जीवन पद्धतिमा अपनाउनुपर्ने बताउनुभयो । सुसंस्कृत समाज भएन भने भौतिक विकास प्राप्त भएपनि समाजमा शान्ति नपाइने उहाँको भनाइ छ । 

प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले २८ औँ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसार गर्ने मुख्य उद्देश्यले महामिलन पर्व आयोजना गरिएको जानकारी दिनुभयो । 

प्रतिष्ठानका महासचिव ऋषिराम ढुङ्गानाले व्यासभूमिलाई विश्वमाझ परिचित गराई धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भनाइ राख्नुभयो । ढुङ्गानाका अनुसार व्यासभूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीहरूको धार्मिकस्थल बनाउन एक महिने अखण्ड हरिनाम सङ्र्कीतन एवं १०८ दीप प्रज्ज्वलन गरिने छ ।

महामिलन पर्वको अवसरमा पितृ उद्धारका लागि सवा लाख दीप प्रज्ज्वलन गरिनेछ । यसअघि व्यासभूमिमा शान्ति स्वरुपानन्द दामोदर बाबाको सत्सङ्कल्प र संरक्षक गोविन्द बाबाको तथा वेद अनुयायी प्रतिष्ठानको आयोजनामा १८ महिनासम्म कथावाचन भई प्रथम ऐतिहासिक १८ महिने अखण्ड हरिनाम सङ्र्कीतन एवम् १०८ श्रीमद्भागवत ज्ञान महायज्ञ र भूमिपूजन सम्पन्न भइसकेको छ ।

व्यास क्षेत्र विकास कोषको सक्रियतामा एक सय आठ फिट व्यासको मूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण काम सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबिच सम्झौता भई पहिलो चरणमा पाँच करोड ८४ लाख ८४ हजार ५२ रुपियाँ लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम भइरहेको छ । 

यसका लागि मन्त्रालयको समपूरक अनुदान तीन करोड ८० लाख १४ हजार छ सय ३३ रुपियाँ रहेको छ भने व्यास नगरपालिकाले दुई करोड चार लाख ६९ हजार चार सय १९ रुपियाँ लागत साझेदारी गरेको छ ।