• २० असोज २०८१, आइतबार

नेपाल सधैँ विश्व शान्तिका लागि प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

blog

संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का ।

काठमाडौं, कात्तिक १ गते । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सधैँ विश्व शान्ति र सदभावका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । बुधबार संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले सो कुरा बताउनुभएको हो । उहाँले संयुक्त राष्ट्रसङ्घको बडापत्र नेपालको परराष्ट्र नीतिको एउटा मार्गदर्शन सिद्धान्त रहेको बताउनुभएको छ ।


‘‘नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ । नेपाल सधैँ विश्व शान्ति र सदभावका लागि प्रतिबद्ध रहेको छ ।,’’ उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘निःशस्त्रीकरण र विश्वशान्तिलाई बढावा दिने र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्ने अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरुमा हाम्रा प्रतिबद्धताहरु अभिव्यक्त भएका छन् । संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा हामीले हाम्रा शान्ति सैनिकहरुलाई निरन्तर खटाएर योगदान गरिरहेका छौं ।’’

यसैगरी, उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसंको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्य प्रति प्रतिबद्ध रहेको सन्दर्भमा यस अवसरले विश्वशान्ति प्रतिको कर्तव्यको स्मरण गराउनुका साथै अझ राम्रो कामका लागि प्रयासरत रहने उत्प्रेरित गर्ने बताउनुभयो ।


‘‘संयुक्त राष्ट्रसङ्घले विश्वको शान्ति, प्रगति र समृद्धिका लागि अथक प्रयास गर्दै आएको कुरा नेपालले सदैव स्वीकार गरेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘विश्व समुदायको एक सदस्यको हैसियतले नेपाल पनि यी प्रयासमा सक्दो योगदान गर्न सधैँ प्रतिबद्ध छ ।’’

उहाँले नयाँ चुनौतीहरूको उदयसँगै विश्वव्यापीरुपमा नागरिकहरूको संवेदनशीलता बढेको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीकाबिच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनर्विचार गर्न आवश्यक देखिएको उहाँको भनाइ छ ।