• ७ जेठ २०८१, सोमबार

अझै सञ्चार सुविधाविहीन तनहुँवासी

blog

तनहुँको व्यास नगरपालिका–१४ मास्तीघाटका बासिन्दा मोबाइलमा टावर टिप्ने ठाउँको खोजी गर्दै । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक १ गते । तनहुँको व्यास नगरपालिका क्षेत्रकै बासिन्दा सञ्चार सेवाबाट वञ्चित छन् । २१ औँ शताब्दीको सूचना तथा सञ्चार प्रविधिको युगमा फोन गर्नका लागि आधा÷एक घण्टा हिँडेर डाँडाकाँडा धाउनुपर्ने बाध्यता अझै छ ।

 व्यास नगरपालिकाको वडा नम्बर १२, १३ र १४ मा पर्ने छाब्दी वाराही मन्दिर क्षेत्र र व्यासको वडा नम्बर १४ र देवघाट गाउँपालिका वडा नम्बर २ मा पर्ने मास्तीखाट गाउँमा मोबाइल सेवा विस्तार हुन सकेको छैन । यस क्षेत्रमा सरकारी र निजी दुवै क्षेत्रको मोबाइलको पहुँच छैन । तनहुँको सदरमुकाम दमौलीबाट छाब्दी वाराही मन्दिर ६ किलोमिटर छाब्दी वाराही र करिब नौ किलो मिटर दूरीमा मास्तीघाट भए पनि कुनै पनि टेलिफोन सेवा प्रदायकले टावर नराख्दा त्यहाँका स्थानीय र त्यस क्षेत्र पुग्ने मानिसहरू सम्पर्कविहीन हुनुपरेको हो ।

स्थानीयबासीहरु आपतविपत् तथा बिरामी भएको बेलामा एम्बुलेन्स तथा अन्य सवारीलाई समेत फोन गरेर बोलाउन नपाएको गुनासो गरेका छन् । महत्त्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै अग्लो डाँडामा जाने, रुखमा चढ्ने गरेको व्यास नगरपालिका–१४ मास्तीघाट निवासी ५१ वर्षीया रुपा थापाले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘आवश्यकता पर्यो भने हामीले सम्पर्क गर्ने हो अरूले चाहेर सम्पर्क हुँदैन ।’’  देवघाट गाउँपालिकाको कोट बैदी र ऋषिङ गाउँपालिकाको दुवुङमा रहेको टावरले रुखमा चढेर अग्लो डाँडामा पुगेपछि मात्रै टिप्ने गरेको सोही ठाउँ निवासी गुमबहादुर मल्ले बताउनुभयो ।

नाति विद्यालयमा बिरामी हुँदा खेरी मोबाइले काम नगर्दा धेरै दुःख पाएको मल्लले बताउनुभयो । मल्लले स्थानीय बासिन्दाहरू बिरामी हुँदा एम्बुलेन्स बोलाउन समस्या पर्ने गरेको जानकारी दिनुभयो । देवघाट गाउँपालिका र व्यास नगरपालिकाको वडा नम्बर १४ को  गरी मास्तीफाँट आसपासका करिब ६०  घर परिवारका बासिन्दा दूरसञ्चार सेवाबाट वञ्चित भएको उहाँले जानकारी दिनुभयो ।  समस्याको छिटो समाधान गर्नुपर्ने माग स्थानीयको छ ।  सोही ठाउँ निवासी मानबहादुर थापाले आफ्नो दुई छोरा विदेशमा रहेको र मोबाइलमा कुरा गर्न निकै समस्या परेको बताउनुभयो । बुढ्यौली उमेर भएकोले रुख चढ्न नसक्ने भएकोले आधा घण्टा पर हिँडेर अग्लो डाँडामा पुगेर फोनबाट परिवार तथा आफन्तसँग कुरा गर्नुपरेको गुनासो थापाले गर्नुभयो ।  यसै आर्थिक वर्षभित्र टावर टिप्ने गरी काम गर्न पहलकदमी भइरहेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो । वाग्लेले भन्नुभयो, ‘‘अहिले पनि मोबाइलमा कुरा गर्न नपाउने अवस्था देख्दा ढुङ्गे युग नै हो भनेर भन्न चाहेँ समाधान गर्न  दूरसञ्चार कार्यालय भनिसकेका छौँ ।’’ बस्ती खोचमा रहेकोले मोब गाउँमा बसेर कुरा गर्न नपाइएको स्थानीय युवा कोशन थापाले बताउनुभयो ।

धेरै जसो युवाहरू विदेशमा रहेकोले परिवारमा सम्पर्क गर्न सास्ती हुने गरेको थापाले बताउनुभयो । थापाले भन्नुभयो, अग्लो  रुखमा चढेपछि अलि अलि टावरले टिप्छ, त्यो पनि आवाज प्रस्ट आउँदैन चिच्याई चिच्याई बोल्नुपर्ने बाध्यता छ ।’’  दिनहुँ धार्मिक पर्यटकको भीड लाग्ने छाब्दी वाराही मन्दिर क्षेत्रमा सञ्चारको असुविधा छ । मोबाइल सेवा विस्तारका लागि वर्षौँदेखि पहल गरे पनि टेलिकम र निजी क्षेत्रमा कम्पनीले वास्ता नगरेको छाब्दी वाराही मन्दिर संरक्षण समितिका अध्यक्ष थानबहादुर थापाले बताउनुभयो । दुई सय भन्दा बढी घर परिवारलाई मोबाइलमा कुरा गर्न समस्या परेको उहाँले जानकारी दिनुभयो । चर्चित धार्मिकस्थल भएकोले टाढा टाढा देखि भक्तजन आउने भएकोले सम्बन्धित निकायले मोबाइलको टावर टिप्ने व्यवस्था गर्नु पर्ने अध्यक्ष थापा बताउनुहुन्छ । थापाले भन्नुभयो, ‘‘अहिलेको युगमा पनि जनताले सञ्चार सुविधा नपाउँदा हामी दुःखित  भएका छौ।’’ छाब्दी वाराही विकास कोषको लेटर प्याडमा चिठी लेखेर एनेसेललाई टावरको व्यवस्था गर्न माग राखे पनि सुनुवाइ नभएको अध्यक्ष थापाले बताउनुभयो । थापाले भन्नुभयो, सिमले काम नगरेकोले सबै जम्मा गरेर कम्पनीमा फिर्ता गर्ने तयारी गरेका छौँ ।’’

नेपाल टेलिकम तथा एनसेलले टावर जडान गर्न ढिलाइ गर्दा स्थानीयवासी सञ्चार सुविधाबाट वञ्चित भएको थापाको गुनासो छ । नेपाल टेलिकम दूर सञ्चार कार्यालय दमौलीका प्रमुख  वरिष्ठ इन्जिनियर प्रभात अधिकारीले विकटदेखि सुगम ठाउँमा सेवा विस्तार गरिरहेको उल्लेख गर्दै सञ्चारको पहुँच पुर्याउन पहलकदमी गर्ने बताउनुभयो । टावरको उचाइ बढाएर एन्टेना घमाएर वा टावर थप गरेर समस्या समाधानको लागि पहलकदमी गर्ने बताउनुभयो । अधिकारीले भन्नुभयो, ‘‘समस्याको समाधानको लागि पोखरा कार्यालयमा जानकारी गराएर समाधानको लागि काम अघि बढाउँछौँ’’ । नाफा कमाउने मात्र नभई सेवा दिनु पनि कर्तव्य भएकोले थोरै जनसङ्ख्या भएको भूगोलमा पनि सञ्चारको पहुँच पुर्याउनु पर्ने भएकोले टावरको विस्तार भइरहेको अधिकारी बताउनुहुन्छ ।  व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले टावर व्यवस्थापनका लागि सेवा प्रदायकसँग माग गरिएको बताउनुभयो  । न्यौपानेले भन्नुभयो ‘पटक पटक कुरा गरेको छु  टावर बनाउने काम हाम्रो काम होइन ।’ नगरपालिकाले धेरै दबाब दिएपछि टावर राख्ने काम अघि बढेको जानकारी प्राप्त भएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।