• २० असोज २०८१, आइतबार

नौमती बाजा घन्काउँदै मल्लाजका महिला

blog

नौमती बाजा बजाउँदै मल्लाजका महिला । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असोज ३० गते । बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका –३ मल्लाज माझफाँटका महिलाले नौमती बाजा बजाउन थालेका छन् । 

महिला चेतना केन्द्रले नौमती बाजा बजाउन तालिम दिएपछि महिलाहरू बाजा बजाउन थालेका हुन । तालिम पाएपछि आजकल गाउँघरमा हुने विवाह र विभिन्न कार्यक्रममा महिलाले नौमती बाजा लिएर पुग्ने गर्छन् । महिलाले गाउँमा नौमती बाजा घन्काउन थालेपछि गाउँलेहरू पनि दङ्ग परेका छन् । 

महिलाले बजाएको नौमती बाजामा रमाइलो मानेर पुरुषहरू नाच्ने गर्छन् । हालै मल्लाजमा आयोजना गरिएको कार्यक्रममा आउनुभएका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई महिलाले नौमती बाजाले स्वागत गरे । कार्यक्रममा बजेको नौमती बाजाले सबैको ध्यान खिच्यो । पाहुनाहरू बाजामा छमछमी नाचे । 

‘दश दिनसम्म नौमती बाजा बजाउने तालिम दिएका थियौँ’ महिला चेतना केन्द्रकी अध्यक्ष शान्ति जिसीले भन्नुभयो, ‘‘तालिम पाएपछि महिला नौमती बाजा बजाउन पोख्त भएका छन् । गाउँघरमा आयोजना हुने कार्यक्रममा बाजाका लागि माग आउन थालेको छ ।’’ 

चन्दा सहयोग जुटाएर तालिम दिनुका साथै नौमती बाजाका समानहरू खरिद गरेको उहाँले बताउनुभयो । महिलाले एउटै पहिरन रातो साडी, हरियो चोलो र  तिलहरी लगाएर नौमती बाजा बजाउँछन् ।  

महिलाले हातमा नर्सिङ्गा, सहनाई, दमाहा, ढोलकी, ट्याम्को, कर्लान र झ्याली लिएर नौमती बाजा बजाउँदै  अघि बढ्दा मुख्यमन्त्रीसहितका पाहुनाहरू अचम्ममा परेको बताएका छन् ।  

नौमती बाजा हामी सबैको संस्कृति हो, केन्द्रकी अध्यक्ष जिसीले भन्नुभयो, ‘‘गाउँघरमा नौमती बाजाको लोप हुन थालेपछि हामी महिलाले सिक्न थालेका हौँ । यो कुनै जातिविशेष र पुरुषले मात्र बाजा बजाउनुपर्छ भन्ने पुरानो मान्यतालाई महिलाले तोड्न थालेका छन् ।’’ 

नौमती बाजा संरक्षणका लागि महिलाले चन्दा सहयोग जुटाएर तालिमको व्यवस्था र बाजा खरिद गरेको महिला चेतना केन्द्रकी सहसचिव ज्योति मल्लले बताउनुभयो । नौमती बाजा बजाउन १५ जना महिलाको समूह छ । तालिम लिएका महिला सबैले बाजा बजाउन जानेका छन् । 

गाउँघरमा आयोजना हुने कार्यक्रममा नौमती बाजा बजाउने अवसर पाउँदा हौसला मिल्ने कर्नाल बजाउने कालिका परियारले बताउनुभयो । सुरुमा अहिले कठिन भए पनि अहिले बजाउन थालेकी छु उहाँले भन्नुभयो, ‘‘कर्नाल बजाउँदा सास पुगाउन कठिन हुन्छ । सिक्दै गरेकी छु, केही महिना बजाए भने मलाई विश्वास छ राम्रोसँग बजाउन सक्ने हुन्छु ।’’ 

महिला नौमती बाजाको संरक्षणमा जुटेकाले वडाले पनि सहयोग गर्ने सोच बनाएको जलजला गाउँपालिका –३ का वडाध्यक्ष एकिन्द्र खत्रीले बताउनुभयो ।