• २० असोज २०८१, आइतबार

दसैँको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता

blog

फाइल तस्बिर

धुलिखेल, असोज ३० गते । दसैँं र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कृति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको छ । 

युवा पुस्ताको रोजाइमा नपरेका कारण पछिल्ला वर्षमा चङ्गा उडाउने परम्परा लोप हुँदै गएकाले बनेपास्थित रोट्राक्ट क्लबले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । ‘चङ्गा उडाऔँ, संस्कृति जोगाऔँ’ भन्ने नाराका साथ बनेपा नगरपालिका-९ मगरगाउँमा आगामी कात्तिक ४ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

अहिलेकोे युवा संस्कृति बचाउनभन्दा पनि घुम्ने र खानपानमै रमाइलो मान्ने गर्दा यस्ता परम्परा लोप हुँदै गएकाले  संरक्षण गर्न र युवा पुस्तामा  यसको महत्व बुझाउन पनि  महोत्सव आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रोभेन तौजलेले बताउनुभयो । “दसैँमा चङ्गा उडाउनभन्दा रमाइलो गरेर बस्ने युवापुस्ता बढ्दैछ ।” उहाँले भन्नुभयो, “विगत एकदशक अगाडिसम्म दशैँ तथा तिहारमा बालबालिकादेखि युवायुवतीले मनोरञ्जनका रुपमा चङ्गा उडाउने परम्परा पछिल्लो समय स्थान अभाव र पश्चिमा संस्कृतिको प्रभावका कारण लोप हुन थालेको छ ।” 

अहिले पहिलेको जस्तो चङ्गा उडाउने ठाउँ पनि पर्याप्त नभए पनि उतिबेलाका घरको उचाइ पनि उस्तै-उस्तै हुने हुँदा चङ्गा उडाउन सजिलो थियो तर पछिल्लो समय खुल्ला स्थान अभाव र सहरीकरणका कारण चङ्गा उडाउने संस्कृति हराउँदै जान थालेकाले युवा पुस्तामा यसको महत्व बुझाउन आवश्यक देखिएको उहाँले बताउनुभयो । 

लोप हुन थालेको संस्कृति जगेर्ना गर्ने उद्देश्यले बनेपाका युवाले करिब दस वर्षदेखि चङ्गा चैट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका संयोजक तथा क्बलका सेक्रेटरी सदीक्षा धितालले बताउनुभयो । यस पटक पनि नेपालीको महान् चाड दसैँको उपलक्ष्यमा फूलपातीका दिन प्रतियोगिता गर्न लागिएको उहाँले बताउनुभयो । 

अहिलेका बालबालिकाको ध्यान मोबाइल, कम्प्युटर, ल्यापटपलगायत वैकल्पिक मनोरञ्जनका माध्यमतिर जाँदा चङ्गाको आकर्षण घटेको हो । पहिले पहिले सहर बजारका किराना पसलदेखि तरकारी पसलसम्म पाइने चङ्गा अहिले बजारका केही सीमित पसलमा मात्र भेटिने गरेको सम्बद्ध व्यक्तिले बताए । अझ लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्ने अवस्था आइसकेको छ । यसअघि तीन पटकसम्म बेष्ट प्रोजेक्ट जितेको रोट्राक्ट क्लबले घरेलु तथा साना उद्योग प्रवर्धन गर्ने उद्देश्यले चङ्गा र लटृाईको स्टल राख्ने जनाएको छ । रासस