स्मृति मिश्र
महेन्द्रनगर (धनुषा), असोज २९ गते । आस्थाको पर्व विजयादशमी आइतबार घटस्थापना गरी प्रारम्भ भएको छ । जनकपुरधामलगायत तराई मधेशका विभिन्न स्थानका शक्तिपीठ तथा मन्दिरहरूमा पूजाअर्चना गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ भने बडादसैँको रमझम सुरु भएको छ ।
जनकपुरधामको सुप्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरलगायत विभिन्न मन्दिर तथा चोकमा निर्मित मूर्तिहरूलाई सजाइएको छ । दसैँका अवसरमा विभिन्न ठाउँमा दुर्गा भवानीको प्रतिमा बनाई नेत्र प्रदान गरी पहिलो दिन कलश यात्रा निकाल्ने चलन छ । दसँैंमा प्रतिमा बनाउँदा माता दुर्गालगायत गणेश, काली, चण्ड, मुण्ड, शुम्भ, निशुम्भलगायतको प्रतिमा बनाउने परम्परा रहेको पण्डित अमित झाले बताउनुभयो ।
उहाँका अनुसार माता दुर्गाका तीन स्वरूप महाकाली, महालक्ष्मी एवं सरस्वती माताका विधिवत् रूपले आराधना गर्ने गरिन्छ । शक्तिको प्रतीक काली, धनकी देवी लक्ष्मी, विद्या एवं बुद्धिको प्रतीकको रूपमा सरस्वती माताको आराधना गर्ने परम्परा रहिआएको छ ।
प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनकपुरधामको रमानन्द चोक, भ्रमरपुरा चोक, विद्यापति चोक र पिडरिया माई मन्दिरद्वारा बडादसैँका अवसरमा विशेष पूजा आयोजना गरिएको छ । माता दुर्गाको कलश यात्रामा हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी भएका थिए । आइतबार घटस्थापनाका दिन कलश यात्रा र गणेश स्थापना गरी शैलपुत्रीको पूजा गरिएको छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, नवौँ दिन सिद्धिदात्री गरी नौ दिनमा नौ देवीको पूजा गरिन्छ, जसलाई नवदुर्गा भनिन्छ ।
यता दसैँको समयमा विशेष सुरक्षा आवश्यक रहेकाले विभिन्न ठाउँमा व्यापक प्रहरी परिचालन गरिएको छ । कुनै प्रकारका घटना हुन नदिन सुरक्षाको कडा व्यवस्था गरिएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
प्रहरीको सुरक्षा पहरा
सर्लाही समाचारदाताका अनुसार घटस्थापनाका अवसरमा सर्लाही जिल्लाभर आइतबार भव्य कलश यात्रा निकालिएको छ । जिल्ला प्रहरी कार्यालय मलङ्गवाले उपलब्ध गराएको सूचना अनुसार जिल्लाभर ६५ भन्दा बढी स्थानमा कलश यात्रा निकालियो । यहाँका दुर्गा मन्दिरमा गणेश स्थापनासहित स्थानीय बासिन्दा, व्यवसायीलगायत मिलेर टोल, बजारमा भव्य कलशयात्रा निकालेका हुन् ।
सदरमुकाम मलङ्गवासहित लालबन्दी, हरिवन, बरहथवा, बयलबासलगायत प्रमुख बजार र ग्रामीण भेगमा समेत घटस्थापनाको अवसर पारेर कलश यात्रा निकालिएको स्थानीयवासीले बताएका छन् । कलशयात्रामा जिल्लाका सांसद, पालिका प्रमुख, अन्य जनप्रतिनिधि, अगुवासहित स्थानीयवासीको भव्य उपस्थिति देखिएको छ ।
कलशयात्रामा मानिसको भिड हुने भएकाले आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको सर्लाहीका निमित्त प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो । मलङ्गवामा बारम्बार तनाव उत्पन्न भइरहेकाले त्यहाँ ठूलो मास उपस्थित भएर निकालिएको कलशयात्रामा प्रहरीले भरपर्दो सुरक्षाव्यवस्था मिलाएको छ । मलङ्गवामा मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी कलशयात्रा निकालिएको एक सुरक्षा अधिकारीले बताए ।
एघार हजार कन्या सहभागी
बर्दीबास समाचारदाताका अनुसार महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशालामा विशाल कलश यात्रा आयोजना गरियो । कलश यात्रामा नगर क्षेत्रका ११ हजार कन्या सहभागी भएका दुर्गापूजा आयोजक समितिले जनाएको छ ।
भजनकीर्तन र बाजागाजासाथ भक्तिमय वातावरणमा आयोजना गरिएको कलशयात्रामा हजाराँै धर्मपरायण भक्तजनको सहभागिता थियो । नवदुर्गाको जयगानसहित मडाहा नदीबाट पवित्र जलपात्र बोकेर सुरु भएको कुमारी कन्याको विशाल कलश यात्राले बजार क्षेत्र परिक्रमा गरेको थियो ।
घटस्थापनाका अवसरमा जिल्लाका प्रमुख शक्तिपीठमध्ये औरहीको सोनामाईस्थान, बर्दीबासको पञ्चधुरा माईस्थान, जलेश्वरको राजदेवीलगायतका भगवती मन्दिरमा आइतबार बिहानैदेखि भक्तिभावसहित शैलपुत्रीको पूजाअर्चना र दर्शन गर्नेको ठुलो भिड लागेको थियो ।