• २८ पुस २०८१, आइतबार

दिवा सेवा केन्द्रको महत्त्व बढ्दै : मन्त्री शर्मा

blog

ज्येष्ठ नागरिकसँगको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : कुलदीप न्यौपाने/रासस

लीलाधर वली
घोराही, असोज २८ गते ।
 सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको महत्त्व बढ्दै गएको बताउनुभएको छ ।

दाङको घोराहीमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले आइतबार घोराहीमा आयोजना गरेको विजया दशमीको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकहरूलाई दिउँसोको समयमा भेटघाट गराउने माध्यम दिवा सेवा केन्द्र बनेको बताउनुभएको हो ।

कतिपय अवस्थामा कामको व्यवस्थता र जिम्मेवारीका कारण एउटै परिवार पनि छुटिएर बस्नुपर्ने अवस्था रहेको जानकारी दिनुहुँदै मन्त्री शर्माले भन्नुभयो, ‘‘एउटै परिवार भए पनि आमाबुबा, छोराबुहारी नानातिना छुट्टिएर बस्नुपर्ने अवस्था रहेको छ । कामका कारण छोराबुहारी घरबाहिर र नाति–नातिना पढाइका लागि विदेश वा देशका अन्य ठाउँ जादा ज्येष्ठ नागरिकहरू एक्लिरहेका हुनुहुन्छ । त्यस्तो अवस्थामा उहाँहरूलाई भेटघाट गर्ने र मनका कुरा एकअर्काबिच साटासाट गर्ने उपयुक्त माध्यम दिवा सेवा केन्द्र हुन सक्छन् ।’’ उहाँले विदेशमा यस्तो अवस्था हुने गरेपनि नेपालमा भर्खरै सुरुवात हुन थालेको बताउनुभएको हो ।

घोराहीमा विगत केही वर्षदेखि सञ्चालनमा आएको दिवा सेवा केन्द्र अत्यन्त उपयुक्त रहेको भन्दै यसलाई देशका अन्य सहरी क्षेत्रहरूमा समेत विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भए पनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेका, वृद्धआश्रममा लगेर छोडेका घट्नाहरु आउने गरेको भन्दै त्यस्ता घटनाहरूलाई रोक्नका लागि पनि दिवा सेवा केन्द्रले सहयोग पुर्‍याउने बताउनुभयो । यसका लागि आधारभूत सेवासहितका पूर्वाधारहरू निर्माण गर्न आवश्यक रहेको भन्दै मन्त्री शर्माले आगामी बजेटमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्राथमिकतामा राख्ने बताउनुभएको हो ।

उहाँले अब बन्ने दिवा सेवा केन्द्रहरूलाई भेटघाट गर्ने थलोसँगै ज्येष्ठ नागरिकहरूको शारीरिक र मानसिक उपचार गर्ने स्थलका रूपमा समेत विकास गरिनुपर्ने बताउनुभएको थियो । 

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले सरकार ज्येष्ठ नागरिकको अधिकार रक्षा र सुविधा दिनका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्ताहरूमा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सबै निकायले ध्यानदिनुपर्ने बताउनुभएको हो ।