• २८ पुस २०८१, आइतबार

कालिन्चोकमा बनाइएको घर टहराको स्वामित्वमा लिखित जवाफ माग

blog

कालिञ्चोक गाउँपालिकाको कुरी बजार ।

बाबुराम शर्मा

दोलखा, असोज २८ गते  । दोलखाको कालिञ्चोक गाउँपालिकाले धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोकको कुरीमा निर्माण भएका भौतिक संरचनाको स्वामित्वका विषयमा लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिले असोज ३० गतेभित्र आफूले उपभोग गरिरहेको जग्गाको स्वामित्वको विषयमा गाउँपालिकालाई लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो । 

समितिले असोज १६ गते कुरी क्षेत्रका स्थानीयसँग छलफल गरी १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिका संयोजकसमेत रहेका गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार कुरीमा बनेका संरचनाको प्रकार, बनाएको मिति, संरचना बनेको जग्गाको क्षेत्रफल, कुन आधारमा बनाइएको, कसले बनाएको भन्नेबारे तीनपुस्ते विवरणसहित गाउँपालिकामा लिखित रूपमा जानकारी गराउन भनिएको छ । गाउँपालिकाको निर्देशनपछि कुरीका १२ जना घरधनीले विवरण उपलब्ध गराएका छन् । 

कालिञ्चोक गाउँपालिकाले गत माघ २३ गते उपाध्यक्ष बुढाथोकीको संयोजकत्वमा पाँच सदस्यीय कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समिति गठन गरेको थियो । सो समितिमा वडा नं. १ का वडाध्यक्ष पदमबहादुर थामी, वडा नं. ६ का वडाध्यक्ष भरत पाण्डे, वडा नं. ९ का वडाध्यक्ष रामप्रसाद मैनाली र गाउँपालिकाको प्रशासन शाखाका एक जना कर्मचारी सदस्य रहेका छन् । समितिले स्थानीयबाट विवरण आएपछि त्यसमाथि अनुसन्धान गरी आवश्यक प्रव्रिmया अगाडि बढाउने तयारी गरेको छ । 

गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले कालिञ्चोक मन्दिर आसपासमा अवैध रूपमा बनेका घरटहरा व्यक्तिले नहटाए गाउँपालिकाले हटाउने बताउनुभयो । गत साउन ८ गते जिल्ला समन्वय समिति, कालिञ्चोक गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको टोलीले एकैसाथ कुरी बजार क्षेत्र र मन्दिर क्षेत्रको अनुगमन गरी मन्दिर आसपास बनाइएका संरचना तत्काल हटाउन र कुरीका होटललाई अनिवार्य मेनु राख्न निर्देशन दिएको थियो ।