• २ जेठ २०८२, शुक्रबार

सडक ढलानमा तीव्रता

blog

गौर समाचारदाता

गौर, असोज २७ गते । रौतहटको दुर्गाभगवती गाउँपालिका–३, मत्सरीमा सडक ढलान कार्य तीव्रताका साथ भइरहेको छ । मत्सरी गाउँको मुख्य सडकस्थित वडा कार्यालयदेखि बागमती नदी जाने सडकखण्डको गाउँबस्तीसम्म सडक ढलान कार्य प्रारम्भ गरिएको  हो ।

गाउँको निकासका रूपमा रहेको उक्त सडकखण्ड जीर्ण रहेको तथा बाटोमै पानी जमेकाले सर्वसाधारणलाई आवतजावतमा समस्या उत्पन्न भएपछि सडक ढलान कार्य थालिएको वडाध्यक्ष धर्मेन्द्रकुमार झाले बताउनुभयो । वडा नं. ३ मत्सरी वडा कार्यालयदेखि २१५ मिटरसम्म लम्बाइ तथा १५ फिट चौडाइ सडक ढलान कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । 

गाउँको मुहानका रूपमा रहेको उक्त सडकखण्ड दसैँ अगावै गाउँबस्तीसम्म ढलान गरिने तथा दसैँ, दीपावली तथा छठ पर्वको समापनपछि बागमती नदीको बाँधसम्म ढलान कार्य गरिनेसमेत उहाँले जानकारी दिनुभयो । गाउँमा प्रदेश सरकारद्वारा निर्मित नालामा त्यसै ब्लकको पानी निकास निकाल्ने व्यवस्था गरिएको तथा पक्की नाला निर्माण बाँकी रहेकालाई पनि नाला निर्माण गरिने योजना रहेको वडाध्यक्ष झाले जानकारी दिनुभयो ।

सडक ढलान कार्य गुणस्तरयुक्त तथा फलदायी रूपले निर्माणका लागि आफैँ नियमित निरीक्षण तथा अनुगमन गरिरहेको तथा निर्धारित समयभित्र सडक ढलान कार्य सम्पन्न हुने उहाँले बताउनुभयो । उक्त सडक ढलान कार्यको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले एक कार्यक्रमका बिच शुभारम्भ गर्नुभएको थियो । त्यस क्रममा अध्यक्ष सिंहले वडा कार्यालयदेखि बागमती नदीपारि सर्लाही जिल्ला आवतजावत गर्ने सडकखण्ड भएकाले लागत स्टिमेट अनुसार गुणस्तरीय सडक ढलान गर्न निर्देशन दिएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिसँगै बाटोघाटो निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाएको भन्दै अध्यक्ष सिंहले आफ्नो कार्यकालको १६ महिनाको अवधिमा वडा नं. १ गङ्गा पिपरामा लामो समयदेखि जीर्ण सडकको जीर्णोद्धार गरिएको बताउनुभयो ।