• २८ पुस २०८१, आइतबार

कोशीमा भोलि समर्थक सांसदको सनाखत गराइने

blog

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दवाव दिन पुगेका सांसदहरु ।

शशिधर पराजुली

विराटनगर, असोज २६ गते । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दुई जनाको दाबी पेश भएपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदहरुको सनाखत गराउने भएको छ । 

प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारीगरी भोलि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताहरुको सनाखत गराउने जानकारी गराएको हो । 

प्रदेश प्रमुखको कार्यालयले दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्ने सबै सदस्यलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ उपस्थित गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्री पदमा नियुक्तिगरी प्रदेश सरकार गठन गर्न संविधानको धारा १६८ (५) बमोजिम आव्हान गरेको समयभित्र प्रदेशसभा सदस्यहरु इन्द्रबहादुर आङ्बो र केदार कार्कीले ४७–४७ जना सदस्यको समर्थन रहेको छ । 

‘हस्ताक्षरसहित दाबी पेस गरेको अवस्थामा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तगरी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुखको कार्यालयको सभा हलमा उपस्थित भइ सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

सरकार गठन गर्न कोशीको प्रदेश प्रमुख पर्शुराम खापुङले दिनुभएको समय सकिएलगत्तै मुख्यमन्त्री नियुक्तिको दाबी प्रस्तुत गर्नुभएका काँग्रेस सांसद केदार कार्कीसहित ४७ जना सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा भेला भएर प्रदेश प्रमुखलाई तत्काल मुख्यमन्त्री नियुक्त गर्न दबाब दिनुभएको थियो । 

नेकपा (एमाले) का ३९ जना र नेपाली काँग्रेसका आठ जना सांसदको समर्थन भएकाले मुख्यमन्त्री नियुक्त गर्न सशरीर उपस्थित भएर उहाँहरुले प्रदेश प्रमुखलाई दबाब दिएपछि प्रदेश प्रमुखले हस्ताक्षर सनाखत गराउने निर्णय गर्नुभएको हो । 

गठबन्धन दलका शीर्ष तहमा भएको सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धन दलको समर्थनको पत्रसहित मुख्यमन्त्री दाबी गर्नुभएको छ । काँग्रेस सांसद कार्कीले नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री दाबी गर्नुभएको छ । 

कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम यसअघि गठन भएको दुईवटा सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि उपधारा ३ अन्तर्गत ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनेको थियो । कार्की नेतृत्वको सरकारले पनि भदौ २० गते विश्वासको मत पाउने आधार नभएपछि उहाँले पदबाट राजीनामा गर्नुभएको थियो । 

मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम विश्वासको मत पाउने आधारसहित शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्न आव्हान गर्नुभएको थियो । संविधानको यस धारा बमोजिम प्रदेश सभामा विश्वासको मत पाउने अवस्था भएको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । 

यसैबीच शुक्रबार दिउँसो नेपाली काँग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएका नेता केदार कार्की र उहाँको समर्थनमा हस्ताक्षर गर्ने सात जना सांसदलाई हस्ताक्षर फिर्ता गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।