• २० असोज २०८१, आइतबार

विजयादशमीमा राखिने दुर्गाको मूर्ति तयार हुँदै

blog

विजयादशमीमा स्थापनाका लागि नेपालगञ्जमा दुर्गा भवानीको मूर्ति तयार पारिँदै । तस्विर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, असोज २६ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा –८ महेन्द्रपार्कका छोटु केवट र उहाँका दाजु सुरज केवटको एक महिना यताको दैनिकी फेरिएको छ । 

नेपालगञ्जको महेन्द्रपार्क नजिकै दुई दाजुभाइ विजयादशमीको स्थापना गरिने दुर्गा भवानीको मूर्ति (प्रतिमा) बनाउन दिनरात ब्यस्त रहनुभएको छ । बाँकेलगायतका तराईका जिल्लामा विजयादशमीको घटस्थापनाको भोलिपल्ट द्वितीया दिनमा सहरका चोक तथा गाउँबस्तीमा दुर्गा भवानीको प्रतिमा स्थापना गरी पूजाआजा गर्ने प्रचलन छ । 

यसरी स्थापना गरिएका मूर्तिहरु विधिपूर्वक विजयादशीको टीकाको भोलिपल्ट नदी तथा खोलामा विसर्जन गर्ने गरिन्छ । विगत आठ वर्षदेखि दुर्गा भवानीको मूर्ति बनाउँदै आउनुभएका छोटु दुर्गा भवानीसहित गणेश भगवान र अन्य विभिन्न देवीदेउताको मूर्ति तयार पारिएको बताउनुभयो ।

छोटुले भन्नुभयो, ‘माटो र परालबाट बनाइने भएकाले कम खर्चमै मूर्ति निर्माण गर्न सकिन्छ ।’ दिनरातको मेहनतको तुलनामा कम मूल्यमा मूर्ति विक्री गर्दैआएको उहाँको भनाइ छ । 

साना र ठूला मूर्ति निर्माण गरेका छोटुले ठूलाखालका मूर्तिको मूल्य १८ हजार रुपियाँसम्म रहेको बताउनुभयो । विभिन्न स्थानमा मूर्ति स्थापना गर्नेहरुले पहिले नै भनेअनुसारका मूर्ति तयार पारिरहेका केवट दाजुभाइले हरेक वर्ष विजयादशमीमा यसखालका मूर्तिहरु तयार पार्दै आउनुभएको छ । 

नेपालगञ्जको ट्राफिक चोकलगायत जिल्लाका अन्य स्थानमा समेत यसखालका मूर्तिहरु तयार भइरहेका छन् ।