सिराज खान
नेपालगन्ज, असोज २६ गते । नेपालगन्जको बिपी चोकमा शुक्रवार बिहान फर्निचर उद्योगहरूमा भएको आगलागीबाट एक करोडको क्षति भएको अनुमान प्रहरीले गरेको छ । आगलागीबाट सात वटा पसल र उद्योग जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रवार बिहान करिब साढे चार बजेतिर बिपी चोकस्थित आलिया फर्निचर उद्योगबाट सुरु भएको आगलागीबाट सो वरिपरिका अन्य ६ वटा पसल र उद्योग पनि जलेर नष्ट हुँदा एक करोड बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले आगलागी फैलिँदै जाँदा लहरै रहेका वारसी काठ फर्निचर, शानिया स्टिल फर्निचर, लक्ष्मी स्टिल फर्निचर, गिलमान फर्निचर उद्योग, चिन्टु किराना पसल र मिठ्ठु मोटरसाइकल ग्यारेज जलेर नष्ट हुँदा एक करोड तीन लाखको क्षति भएको प्रारम्भिक जानकारी आएको बताउनुभयो ।
उहाँले विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको जनाउँदै आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेकोले सो पुरा भएपछि मात्रै वास्तविक क्षतिबारे जानकारी हुने बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका दुई दमकल, प्रहरीको दमकल, कोहलपुर नगरपालिकाको दमकल र नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयको सक्रियतामा दुई घण्टामा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
आलिया ट्रेडर्सका सञ्चालक महमुद जसगढले विद्युत् वितरण केन्द्रले समयमा फोन नउठाएर विद्युत् सप्लाई बन्द नगरेकोले धेरै पसलमा क्षति भएको बताउनुभएको छ । उहाँले समयमै विद्युत् कार्यालयले फोन उठाएर विद्युत् लाइन काटेको भए धेरै पसललाई जोगाउन सकिने बताउनुभयो ।
सो क्षेत्रमा लहरै करिब १५ भन्दा बढी फर्निचरका कारखाना र पसल रहेकोले समयमै आगो नियन्त्रणमा लिन नसकिएको भए थप ठुलो क्षति हुन सक्नेमा सो जोगिएको प्रहरीले जनाएको छ ।
बिपी चोकमा रहेका फर्निचर उद्योग र पसल तथा सिरक डस्नाका पसलहरूमा पटक पटक आगलागी हुँदै आएको छ । हरेक वर्ष सो क्षेत्रमा आगलागीका घट्नाहरु हुने गरेका छन् । आगलागीको घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।