हरिप्रसाद कोइराला
उर्लाबारी, असोज २६ गते । रतुवामाई नगरपालिकाको प्रमुख प्रशासनिक भवन अझै भाडाकै घरमा छ । मोरङका १७ स्थानीय तहमध्ये रतुवामाई मात्रै भाडाको भवनबाट सेवा प्रवाह भइरहेको छ ।
मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका छन् । जसमध्ये अझै भाडाकै घरमा बसिरहेको नगरपालिका रतुवामाई मात्रै हो । नगरपालिकाले मासिक एक लाख ३५ हजार रुपियाँ घर भाडा मात्र तिरिरहेको छ । नगरपालिकाका प्रशासन प्रमुख नरहरि निरौलाका अनुसार एउटै घरमा कोठा नपुगेर स्वास्थ्य शाखा, रोजगार सेवा केन्द्र, उद्यम विकास शाखा, शिक्षा, युवा तथा खेलकुद, कृषि एवं महिला बालबालिका शाखा अलग अलग घरमा भाडामा राखिएको छ ।
साबिकका महादेवा, झुर्किया, सिँजुवा, इटहरा गाविस पूरै र बरडङ्गा, गोविन्दपुर गाविसका चार/चार वडा मिलेर बनेको रतुवामाई नगरपालिका जिल्लाको दक्षिण पूर्वमा पर्ने नगरपालिका हो । सुरुका तीन वर्षसम्म जग्गा प्राप्तिमा अलमलिएको नगरपालिकाले २०७७ सालमा जग्गा प्राप्त गरी भवन निर्माणको प्रक्रिया सुरु गरेको थियो । हाल भाडामा रहेको भवनबाट पश्चिम दक्षिणमा जग्गा व्यवस्थापन गरी २०७८ साल भदौ २८ गते नगरपालिकाले भवन निर्माणको सम्झौता गरेको थियो । भूमि बिसिपिए जेभीले भ्याटसहित नौ करोड ४१ लाख ६४ हजार १७४ रुपियाँमा भवन निर्माण गरी २०८१ साल भदौ २५ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
कुल १६ करोड रुपियाँको लागत स्टिमेट थियो । घटाघटमा नौ करोड रुपियाँमा निर्माण हुने गरी ठेक्का सम्झौता भयो तर ठेकेदारले बिचमै काम छोडेर हिँडेपछि यति बेला नगरपालिकाको टाउको दुखाइ सुरु भएको छ । चार महिनादेखि ठेकेदार बेपत्ता छन् । जिन्सी शाखा प्रमुख महेन्द्र ठाकुरले भन्नुभयो, “सम्पर्क गरिरहेका छौँ । काम गर्छौं, भन्छन् तर काम गर्न आउँदैनन् । सम्झौता भएको मितिले दुई वर्षभित्र कम्तीमा पनि ८० प्रतिशत काम सम्पन्न हुनुपर्ने हो ।”
यता नगर प्रमुख नागेश्वरप्रसाद सिंहले ठेक्का लिने कम्पनीले अर्कै पेटी ठेकेदारलाई दिएको र पेटी ठेकेदार काम छोडेर भागेकाले काम रोकिएको बताउनुभयो । “निर्माण कम्पनीले पुनः अर्को पेटी ठेकेदारलाई काम दिएको थियो । तर भुक्तान प्रक्रियामा समस्या भएपछि ठेकेदार अदालत गई मुद्दा मामिलामा लागे । अदालतले काम गर्न दिनु भन्ने फैसला गरेको छ । अब प्रक्रिया पु¥याएर निर्माण कम्पनी काममा फर्किन्छ,” उहाँले भन्नुभयो । नगरको मात्र होइन, ८ र १० नम्बर वडा कार्यालय पनि अझैसम्म भाडाकै घरमा बसेर सेवा प्रवाह गरिरहेका छन् ।