• ९ मंसिर २०८१, आइतबार

छात्रवृत्ति कोटाका विद्यार्थीसँग शुल्क लिए कारबाही गर्ने महानगरको तयारी

blog

काठमाडौं, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति कोटामा सिफारिस भएका विद्यार्थीसँग शुल्क उठाउने विद्यालयलाई कारबाही गर्ने तयारी गरेको छ । 

यसका लागि महानगरको शिक्षा विभागका अधिकृत नेत्रनारायण पौडेल, महानगर प्रमुख सचिवालयबाट सस्मित पोखरेल र सहरी योजना आयोगबाट सहायक विज्ञ शैलेन्द्र झा रहेको टोलीले मंगलबारबाट छानबिन तथा अनुगमनको कार्य जारी छ । 

अनुगमन समितिका सदस्य सस्मित पोखरेलका अनुसार पुस्तकालय, प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, दर्ता जस्ता शीर्षकमा शुल्क मागेको देखिएको छ । अनुगमनपछि भने विद्यालयले छात्रवृत्ति कोटामा भर्ना भएका विद्यार्थीसँग कुनै पनि शीर्षकमा शुल्क नउठाउने बताइएको उहाँको भनाइ छ । 

चालु शैक्षिक सत्रको कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका विद्यार्थीसँग विभिन्न माध्यमबाट दश वटा विद्यालयले शुल्क लिएको भन्ने उजुरी आएको महानगरले जनाएको छ । 

महानगरले छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई अनलाइन प्रणालीबाट आवेदन माग गरेको थियो । जसबाट  तीन हजार ९१३ जना छात्र र दुई हजार १०४ जना छात्रा गरी ६ हजार १७ जनाले आवेदन दिएका थिए ।

साउन २० गते लिइएको प्रवेश परीक्षामा आवेदकमध्ये तीन हजार ४ सय छात्र र एक हजार ७७२ जना छात्रा गरी पाँच हजार १७२ जना विद्यार्थी सहभागी भए ।  परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन गरेर चित्त नबुझ्ने विद्यार्थीलाई पुनर्योगका लागि दुई दिन समय दिइयो ।

त्यसपछि साउन २९ गते दुई हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको थियो ।