रमेश विश्वकर्मा
गुल्मी, असोज २५ गते । गोठमा आगलागी हुँदा चौपाया घाइते भएका छन् । जिल्लाको छत्रकोट गाउँपालिका–३ काउलेका पशुपति पन्तको गोठमा आगलागी हुँदा भैँसी र पाडा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजेको समयमा टिनले छाएको दुई तले कच्ची गोठमा कुडो पकाउनेक्रममा एक्कासि आगलागी हुँदा सोही गोठमा रहेका भैँसी र पाडा घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी श्रृङ्गाबाट प्रहरी पुगेर स्थानीयको सहयोगमा करिब ९ः४० बजेको समयमा आगो नियन्त्रणमा लिइएको थियो । अन्दाजी १५ हजार बराबरको क्षति भएको स्थानीयको अनुमान छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।