• १३ साउन २०८१, आइतबार

खेर जाने सागबाट गुन्द्रुक उत्पादन गर्दै रोङ

blog

रोङ गाउँपालिकाले गत सिजनमा उत्पादन गरेको गुन्द्रुक सुकाउने तयारी गरिँदै । तस्विर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असोज २५ गते । सुन्दा सामान्य लाग्ने तर किसानको सुदूर भविष्यका लागि आर्थिक भरथेगको दिगो माध्यम बनाउने उद्देश्यले इलामको रोङ गाउँपालिकाले गुन्द्रकलाई बजारीकरण गर्न थालेको छ  । 

गाउँमा किसानले उत्पादन गरेको रायोको साग बजार अभावमा नष्ट भएर जान नदिन र त्यसलाई प्रशोधन गरेर वैकल्पिक तरकारीको रुप दिन गुन्द्रुक उत्पादनलाई गाउँपालिकाले आफ्नो विशेष कार्यक्रम बनाएको हो । 

ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन र निर्वाहमुखी खेती प्रणालीमा सानो परिमाणमा उत्पादन हुने वस्तुलाई सङ्कलन गरेर प्रशोधन, लेबलिङ र ब्रान्डिङ गर्ने लक्ष्यले साग सङ्कलन गरेर गुन्द्रुक बनाउन थालिएको हो । 

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले भन्नुभयो, ‘यसो गर्नु स्थानीय सरकारको सामाजिक उत्तरदायित्वभित्र पर्छ ।’ गाउँपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा कुल ८५ लाख रुपियाँको लागतमा गुन्द्रुक प्रशोधन केन्द्र स्थापना गर्न थालिएको स्याङ्बोले जानकारी दिनुभयो । 

‘यो उद्योग अझै निर्माण सम्पन्न भइसकेको छैन । चालु आर्थिक वर्षमा थप एक करोड १५ लाख रुपियाँ यस्तै उद्योगका लागि छ । विभिन्न वडामा तीनवटा उद्योग स्थापना गर्नेछौं’ उहाँले भन्नुभयो । 

गएको सिजनमा रोङमा पाँचसय ७० किलो गुन्द्रुक उत्पादन गरिएको छ ।  पालिकाले स्थानीय चिया उद्योगी कुमार अर्यालको उद्योगलाई भाडामा लिएर गुन्द्रुक परीक्षणका रुपमा उत्पादन गरेको हो । चिया बनाउने मेशिनकै प्रयोग गरेर तयार गर्न सकिने गुन्द्रुक तयार गर्न चाहिँ त्यति सहज छैन । 

खाद्य प्राविधिकलाई समेत राखेर गुन्द्रुक तयार गरिएको थियो । ‘गुन्द्रुक बनाउने परम्परागत चलनलाई प्रविधिमा ढालेर ठूलो परिमाणमा उत्पादन गर्न सक्दा राम्रै हुने देखियो’ गुन्द्रुक बनाउन आफैं लाग्नुभएका उद्योग सञ्चालक कुमार अर्यालले भन्नुभयो, ‘गुन्द्रुक बनाउन ट्रफमा राखेर वैलाउने, सुकाउने र सुकिसकेपछि रोलिङ मेसिनमा राखेर ५–७ मिनेट माड्ने अनि ड्रममा खाँद्ने निश्चित समय पूरा भएपछि निकालेर पुनः ट्रफमा राखेर निश्चित तापक्रममा सुकाउने अनि गुणस्तरीय गुन्द्रुक तयार हुन्छ ।’

तयारी गुन्द्रुकको अवस्थासम्म पुर्‍याउन श्रमशक्ति भने धेरै खर्च हुनेगरेको छ । ‘यसरी गुन्द्रुक बनाउँदा सागको ग्रेडिङ गर्नुपर्छ । सानो पत्ता, ठूलो पत्ता, सागको डाँठ सबै अलग–अलग बनाएर एकै किसिमको अर्थात पत्ता–पत्ता र डाँठ–डाँठलाई अलग–अलग सुकाइने गरेको छ ।’ अर्यालले भन्नुभयो, ‘सागलाई ३–४ पटक धुने, पात र डाँठ छुट्याउने, दुईदेखि अढाइ इन्चसम्मका टुक्रा बनाउने, त्यसलाई आवश्यकताअनुसार पाँचदेखि छ घण्टा चिसो हावा लगाउने र त्यसपछि छदेखि सात घण्टासम्म तातो हावा लगाएर सुख्खा बनाउनुपर्ने हुन्छ ।’ 

सुख्खा भएको सागका टुक्रालाई रोलिङ गरेर ड्रममा खाँदेर २८ देखि ३० डिग्री तापक्रममा ५ देखि ७ दिनसम्म राख्ने गरिएको छ । कलिलो साग र छिप्पिएको सागलाई हेरेर कति दिनमा गुन्द्रुक अमिलो हुन्छ त्यसलाई हेरेर ५ देखि ७ दिनमा निकाल्ने गरिएको छ । 

यसरी निकालिएको गुन्द्रुकलाई २५ देखि ३० डिग्री तापक्रममा राखेर १२ घण्टा जति सुकाउने गरिएको छ । यति काम गर्नलाई करिब दश दिन लाग्ने गरेको अर्यालले जानकारी दिनुभयो । तर चियालाई भन्दा गुन्द्रुकलाई बढी श्रम, मेशिन सञ्चालन र विद्युत खर्च हुनेगरेको अर्यालको भनाइ छ । 

यसरी तयार भएको गुन्द्रुकलाई ‘ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ’ गरेर नेपाली बजारसहित अमेरिका, अस्ट्रेलिया र कतारमा समेत पठाइएको गाउँपालिका अध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो । ‘रोङ गुन्द्रुक’ नाम दिइएको उत्पादित गुन्द्रुकको माग पनि निकै राम्रो रहेको उहाँको भनाइ छ । 

‘परम्परागत रुपमा बनाइने गुन्द्रुक र यहाँ उत्पादन भएको गुन्द्रुक धेरै फरक छ । तर, श्रम शक्ति धेरै चाहिनो हुँदा लागत उत्पादन पनि निकै हुने रहेछ’ उहाँले भन्नुभयो । पछिल्लो समय बाँदर, बँदेल, मृगलगायत जङ्गली जनावरले खाद्यान्न बाली नष्ट गर्न थालेपछि अहिले किसानलाई वैकल्पिक खेतीको विकल्प दिन पनि स्थानीय सरकारको दायित्व रहेको अध्यक्ष स्याङ्बोको भनाइ छ । 

‘वैकल्पिक खेतीका लागि पर्याप्त जमिन रहेकाले किसानलाई सागखेती गर्न प्रेरित गरेका छौं ।’ स्याङ्बोले भन्नुभयो, ‘बेसार, कफी र सिस्नो खेतीका लागि किसानलाई प्रोत्साहित गर्दैछौं ।’ पालिकाले गुन्द्रुक उत्पादनसँगै यो वर्षदेखि सिस्नोको पनि पाउडर उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ । 

‘यी तीन कृषि उत्पादनलाई ब्रान्डिङ गरेर बजारमा पुर्‍याउन सकियो भने किसानको आर्थिक अवस्था सुध्रिने निश्चित छ, यो कामबाट सयौं युवाले रोजगारीको अवसर प्राप्त गर्नेछन्’ स्याङ्बोले भन्नुभयो, ‘गुन्द्रुकलाई मात्र तयारी गर्दा ४५० जनाले यहाँ प्रत्यक्ष रोजगारी पाउने रहेछन् ।’ यो वर्ष पालिकाका प्रायः सबै किसान साग उत्पादनमा लाग्ने बताएका छन् ।  

रोङमा अहिले इको सहकारी संस्थामा आबद्ध किसानहरुले बेसार खेती पनि गरिरहेका छन् । यो वर्ष उत्पादन भएको करिब पाँचसय किलो बेसार सबै बीउकै रुपमा पालिकाभरि विस्तार गरेर एकै जातको बेसार उत्पादनको तयारी गरिएको अध्यक्ष स्याङ्बोको भनाइ छ ।