नारद कोहार
तौलिहवा, असोज २१ गते । प्राचीन कपिलवस्तुको पहिचान तथा पर्यटन प्रवर्द्धनका लागि तौलिहवामा सात दिने स्थानीय पर्यटक पथ प्रदर्शक तालिमको सुरुवात गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ पुरातत्त्व, लुम्बिनी विश्वविद्यालय प्राध्यापकका वसन्त बिडारीले खुला सङ्ग्रहालयका रूपमा रहेको कपिलवस्तुको पर्यटन विकास र प्रवर्द्धनका लागि तालिमले मद्दत गर्ने बताउनुभयो । कपिलवस्तु घुम्न आउने पर्यटकलाई यहाँ रहेका ऐतिहासिक र पर्यटकीयस्थलको जानकारी दिन पथ प्रदर्शकले सही ढंंगले काम गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘पथ प्रदर्शकको जिम्मेवारी र काम धेरै छन्, यसमा नाम र दाम दुवै छन्, तर सही ढङ्गले काम गर्नुपर्छ ।’ सो अवसरमा पुरातत्त्व विभागका प्रवक्ता तथा प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुवरले तिलौराकोटलाई विश्व सम्पदा सुचीमा नामाङ्कनका लागि प्रक्रिया अघि बढाइरहेका बेला पथ प्रदर्शक तालिमले यसको प्रचारप्रसारमा मद्दत मिल्ने बताउनुभयो ।
तालिम लिएकाहरूले आफ्नो कार्यक्षेत्रमा सहीरुपमा काम गर्नुपर्ने उहाँको भनाइ छ । तालिममा २९ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । कपिलवस्तुमा एकसय ४५ वटा ऐतिहासिक स्थल छन् । बृहद लुम्बिनी बौद्ध परिपथ क्षेत्रभित्रका महत्त्वपूर्ण पुरातात्त्विक तथा सांस्कृतिक सम्पदास्थलको पर्यटकीय प्रवर्द्धनका लागि यो कार्यक्रम गरिएको जनाइएको छ ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को प्राविधिक सहयोग र सहजीकरण, लोटससुत्र र कपिलवस्तु नगरपालिका वडा –३ को आयोजनामा तालिमको शुभारम्भ गरिएको हो ।