सिराज खान
नेपालगन्ज, असोज १९ गते । अशान्त बनेको नेपालगन्ज पुरानै लयमा फर्किन थालेको छ । स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम गर्न मङ्गलबार दिउँसो १ बजेबाट लगाएको कफ्र्यु बिहीबार बिहानबाट दिनभरिका लागि हटाएपछि नगरको अवस्था फेरि पुरानै लयमा फर्किंदै गएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार बिहान एक सूचना जारी गरेर बिहीबार बिहान ८ बजेबाट सोही दिन राति ८ बजेसम्म १२ घण्टाका लागि कफ्र्यु हटाएको जानकारी गराएको थियो । बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कफ्र्यु यथावत् रहने पनि सूचनामा जनाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगन्जको अवस्था क्रमशः सामान्य बन्दै गएकाले सर्वसाधारणको सहजताका लागि १२ घण्टाका लागि कफ्र्यु हटाइएको जनाउँदै कफ्र्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने बताउनुभयो ।
उहाँले निषेधाज्ञामा शान्तिसुरक्षालाई ध्यानमा राखेर कफ्र्यु हटाइएको समयमा सभा, बैठक, जुलुस गर्न नपाउनुका साथै कुनै पनि प्रकारको पर्चा, पम्पलेट तथा पोस्टरसमेत वितरण गर्न नपाइने र पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा हुन नपाउने आदेश जारी गरिएको बताउनुभयो ।
कफ्र्यु हटाइएपछि सर्वसाधारणले राहत अनुभव गरेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले बताउनुभयो । उहाँले कफ्र्यु हटाइएपछि बजारमा चहलपहल क्रमशः बढ्दै गएकाले नेपालगन्ज फेरि पुरानै लयमा फर्किन थालेको जनाउनुभयो ।
जिल्ला प्रहरी कार्यालयले अझै पनि धेरै खालका अफवाह, होहल्ला र निराधार कुराको प्रचारप्रसार भइरहेकाले सचेत रहन नागरिकलाई आह्वान गर्दै कुनै पनि समस्या परेमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले नगरमा कफ्र्यु लगाइएपछि अवस्था शान्त रहेकाले बिहीबार बिहानबाट कफ्र्यु हटाइएपछि पनि शान्त नै रहेको बताउनुभयो ।
उहाँले कफ्र्यु हटाइए पनि नगरका संवेदनशील क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको बताउनुभयो । कफ्र्यु हटाइएपछि अधिकांश सर्वसाधारणले घरबाट निस्केर खाद्यान्न खरिद गर्नुका साथै स्थानीय तरकारी मण्डीमा पुगेर तरकारी खरिद गरेको स्थानीयले जनाएका छन् । नेपालगन्ज त्रिभुवन चोकमा स्थानीय जगदम्बा पाठकले कफ्र्यु हटाइएपछि आवश्यक खाद्यान्नलगायतका सामान खरिदमा निकै सहज भएको र नगरमा फेरि पहिलेकै जस्तै चहलपहल हुन थालेको बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्यले स्थानीय सबैलाई सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्न पहल जारी राख्न अनुरोध गर्नुभएको छ ।
यसअघि ऊँकार परिवारले मङ्गलबार निकालेको विरोध -यालीमा विवाद भई तोडफोड र ढुङ्गामुढा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि नेपालगन्जमा कफ्र्यु लगाएको थियो । सेनासमेत परिचालन गरेर बुधबार सर्वपक्षीय बैठक बोलाइएपछि नगरको अवस्था क्रमशः सामान्य बन्दै गएको हो ।
नेपालगन्जको शान्तिसुरक्षा थप बिग्रिन नदिन लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, गृहसचिव लालबाबु कवारी, नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी उमेशराज जोशी र सशस्त्र प्रहरीका डिआइजी अभि खत्री नेपालगन्ज पुगेर सुरक्षा अवस्था बलियो बनाउन सक्रिय रहनुभएको छ ।