साबिकको सिसवा कटैया, बथनाहा, साँढा, सरपल्लो, मनरा, इटहर्वाकट्टी र सोनौलसमेत गरी सात वटा गाउँ विकास समिति मिलाएर मनरासिस्वा नगरपालिका बनेको छ । यस नगरपालिकामा १० वटा वडा छन् । जिल्ला सदरमुकाम जलेश्वरदेखि १२ किलोमिटर दक्षिणमा अवस्थित यो नगरपालिकाको कुल क्षेत्रफल एक हजार दुई वर्ग किलोमिटर रहेको छ । योग गुरुका रूपमा पहिचान बनाउनु भएका यस नगरपालिकाका प्रमुख मोहन पाण्डेय दुव्र्यसनमुक्त, योग र संस्कृत शिक्षालाई मुख्य ध्येय बनाएर नगरपालिकामा काम गरिरहनुभएको छ । नगरपालिकामा भइरहेको विकास निर्माणलगायत विभिन्न गतिविधिमा केन्द्रित भई प्रमुख पाण्डेयसँग गोरखापत्र दैनिकका महोत्तरी समाचारदाता नागेन्द्रकुमार कर्णले गर्नुभएको अन्तर्वार्ताको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।
नगर प्रमुखमा निर्वाचित भएपछिको अनुभव कस्तो रह्यो ?
सङ्घीयतामा तीन तहको सरकार छ । नियम, कानुन, ऐनहरूका कारण केही कठिनाइ महसुस गरिरहेको छु । संविधानले जुन अधिकार दिएको छ, त्यसमा सङ्घीय सरकारले आफ्नो वर्चस्व खोजिरहेको छ । स्थानीय तहको अधिकारलाई आफ्नो अधिकार भनेर सङ्घीय सरकारले केन्द्रित गर्दा समस्या भइरहेको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवामा सङ्घीय मन्त्रालयले चलखेल गर्दा अस्थिरताको अवस्था झेल्नु परिरहेको छ । उपसचिवको ठाउँमा शाखा अधिकृतलाई पठाइदिन्छन् । जसले गर्दा पनि कामकाजमा असहजता हुन्छ । पालिका आफैँमा एउटा सरकार हो तर जनशक्तिको अभाव झेल्नु परिरहेको छ । नयाँ गठन भएका नगरपालिकामा आन्तरिक आम्दानी न्यून छ । जसका कारण पालिकालाई आत्मनिर्भर हुन समस्या छ । आत्मनिर्भर नहँुदा सोचे जस्तो काम तथा जनताको जनअपेक्षा पूरा गर्न कठिनाइ उत्पन्न भइरहेको छ ।
निर्वाचित भएको करिब दुई वर्ष हुन लाग्यो ? पालिकाको उपलब्धि के के छन् त ?
मुख्यतया शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणको क्षेत्र कमजोर रहेकाले सोही अनुसार कामलाई प्राथमिकता दिएको छु । पालिकामा २३ वटा सामुदायिक विद्यालय छन् । कतिपय विद्यालयमा कक्षा ८ सम्मका विद्यार्थीलाई अध्ययनका लागि बेन्च र डेस्कको पनि व्यवस्था थिएन । विद्यालयमा सबै घन्टी पढाइ हुँदैनथ्यो । यी क्षेत्रमा काम गरेका छौँ । लगभग सबै विद्यालयमा बेन्च डेस्कमा अध्ययन भइरहेको छ । हरेक विद्यालयमा शुव्रmबारबाहेक सात घन्टीको कक्षा भइरहेको छ । विद्यार्थीमा शिक्षाको साथसाथै संस्कारको पनि आवश्यकता महसुस गरेर पालिकामा संस्कृत शिक्षा लागु गरेका छौँ । त्यसै गरी पालिकाको हरेक विद्यालयमा दुव्र्यसनमुक्त अभियान चलाएर दुव्र्यसनमुक्त पालिकाका रूपमा रूपान्तरणका लागि कार्य भइरहेको छ । जिल्लामा लागुऔषधका क्षेत्रमा मनरासिस्वा एक नम्बरमा पर्छ । कतिपय वडामा कक्षा ७, ८ तथा उपल्लोस्तरको कक्षामा अध्ययनरत विद्यार्थी गाँजाको लतमा छन् । उनीहरूको पहिचान गरेर विभिन्न रेस्क्यु शिविर, योग शिविर तथा आवासीय शिविरमा लगेर दुव्र्यसनमुक्त बनाउने प्रयास गरिरहेका छौँ । हरेक विद्यालयमा खानेपानी तथा शौचालयको व्यवस्थित प्रयास गरेका छौँ ।
शिक्षा क्षेत्रमा अझै सुधारको आवश्यकता छ, हामी प्रयासरत छौँ । त्यसै गरी पालिकामा रहेको १० वटै वडाका स्वास्थ्य चौकीमा प्रदेश सरकार र सङ्घीय सरकारले उपलब्ध गराउने औषधी तथा सेवा नगरवासीलाई सहज रूपमा प्राप्त गर्ने काम भइरहेको छ । प्रायः हरेक स्वास्थ्य संस्थामा रक्तचाप तथा चिनी रोगको औषधी निःशुल्क रूपमा वितरण भइरहेको छ । मनरा स्वास्थ्य चौकीको स्तरोन्नति गरी आधारभूत अस्पतालका रूपमा अगाडि बढाएका छौँ । जसमा इमर्जेन्सी, ल्याब, अल्ट्रासाउन्ड सेवाका साथसाथै बर्थिङ सेन्टरका रूपमा काम भइरहेको छ । नगरवासीलाई एलोपेथिकका साथसाथै प्राकृतिक तथा वैकल्पिक चिकित्साका रूपमा रहेको अन्य चिकित्सा पद्धति पनि अवलम्बन गरिरहेका छौँ । कृषि क्षेत्रमा पनि सानो ट्युबेल जडान, स्थायी बाँधका लागि पहल गरिरहेका छौँ ।
समयअगाडि प्रशासकीय अधिकृतको सरुवा हुन्छ, जनशक्तिको अभाव छ, भन्नुभयो ? अनि कसरी उपलब्धि हासिल गर्न सक्नुभयो त ?
मैले पहिले पनि भनेको थिएँ, ऐन, नियम, कानुनको अभाव छ । स्थानीय सरकार सञ्चालन ऐन २०६४ अन्तर्गत हामी काम गरिरहेका छौँ । अहिले पनि सङ्घीय सरकार, प्रदेश सरकारलाई धेरै कानुन बनाउन बाँकी छ । केही असहज भए पनि हामीले स्थानीय सरकार सञ्चालन ऐनकै परिधिमा रही काम गर्ने प्रयासले गर्दा उपलब्धि हासिल गर्न सकेका छौँ तर सङ्घीय र प्रदेश सरकारले स्थानीय सरकारलाई चाहिएको कानुन समयमै निर्माण गर्न जरुरी छ । इच्छाशक्ति र काम गर्ने आँट तथा सबैको सहकार्य र सहयोगले उपलब्धिमूलक काम भएको छ र हामी अझै प्रयासरत छौँ ।
पालिकामा सडक सञ्जालको अवस्था राम्रो छैन ? वर्षामा पालिकाको कार्यालयसम्म आउन नै समस्या छ नि ?
होइन, अहिले त्यस्तो समस्या छैन् । विगतमा थियो तर अहिले हामीले बाह्रै महिना मोटरमा चढेर जान सक्ने बनाएका छौँ । वडाध्यक्षको प्रत्यक्ष निगरानीमा काम भएकाले केही ठाउँबाहेकमा त्यस्तो समस्या छैन् ।
निर्वाचन ताका गर्नुभएको प्रतिबद्धता र वाचा कति पूरा गर्नुभयो ?
हामीले मुख्यतया कृषि, लागुऔषध र गुणस्तरीय शिक्षाको प्रतिबद्धता गरेका थियौँ । यो पालिका पूर्णतः कृषिमा आधारित छ । कृषिका लागि सिँचाइ चाहिन्छ जसको अभाव छ । सिँचाइका लागि सानो ट्युबेल जडान कार्यलाई निरन्तरता दिइरहेका छौँ । हरेक खेतीयोग्य भूभागमा पानी पु-याउन अस्थायी बाँध निर्माणको प्रयास थालेका थियौँ तर साबिकको कुलोहरू अतिव्रmमण भएकाले समस्या देखिएको छ । जबसम्म साबिकका कुलोपैनीको जीर्णोद्धार हुँदैन तबसम्म पानी पु-याउन सकिँदैन । यस वर्ष हामीहरू झिँगास्थानदेखि सकरीसम्म पानी लग्ने प्रयास गरिरहेका छौँ । त्यसै गरी यो पालिका सीमावर्ती क्षेत्रमा रहेका कारण मदिरा ओसारपसार र तस्करीको आतङ्क नै छ । नगरपालिकाको १० वडामध्ये पाँच वडा सीमावर्ती क्षेत्रमा रहेको छ । त्यसैले नगर सभाबाट नै मदिरा निषेधित ऐन बनाएर मदिरा बिव्रmीवितरण निषेध गरिएको छ तर केही मदिरा व्यवसायीले अदालतमा मुद्दा गरेका र अदालतले तत्काल ऐन कार्यान्वयन नगर्न आदेश गरेका कारण केही समस्या देखिएको छ ।
त्यसै गरी गुणस्तरीय शिक्षाका लागि पनि विद्यालय स्तरोन्नति, पठनपाठनलाई राम्रो र गुणस्तरीय बनाउने प्रयास गरिरहेका छौँ । माध्यमिक विद्यालयमा केही मावि शिक्षक नियुक्त गरेका छौँ । पालिकालाई साक्षर अभियान गर्ने कार्यमा अगाडि बढिरहेका छौँ । सम्भव भए यो वर्ष नै नभए नत्र आउने वर्ष पूर्ण साक्षर पालिका बनाउने कार्य गरिरहेका छौँ ।
यस पालिकाकै सांसद तथा प्रदेश मन्त्री पनि छन् । सङ्घ र प्रदेशसँगको समन्वय र सहकार्य कस्तो छ त ?
हामी गौरवान्वित छौँ कि हाम्रो पालिकामा आधा दर्जन प्रदेश सभा सदस्य हुनुहुन्छ र प्रदेश सरकारका मन्त्री पनि हुनुहुन्छ । हामीलाई समय समयमा उहाँहरूको सल्लाह, सुझाव प्राप्त भइरहेका छन् । प्रदेश र सङ्घसँग सहकार्य र समन्वय उहाँहरूकै मार्फत पनि भइरहेको छ ।
नागरिकको सेवा, सुविधा प्रवाह र आर्थिक सुशासनको क्षेत्रमा पालिकाको प्रयास के कस्ता छन् ?
नागरिकको सेवा, सुविधालाई सहजतापूर्वक दिने गरी हामीले कर्मचारीलाई अनुशासनमा ल्याएका छौँ । पहिले कर्मचारी कार्यालयमा आउने कुनै समयसीमा थिएन । जसले गर्दा सेवा प्रवाहमा निश्चित रूपमा ढिलाइ हुन्थ्यो तर अहिले हरेक कार्यालयमा विद्युतीय हाजिरी जडान गरेका छौँ । जसले कर्मचारीलाई अनुशासित भएर समयमा कार्यालय आउने र समयमा कार्यालयबाट जाने वातावरण निर्माण भएको छ । छ वर्षसम्म यस पालिकामा जिन्सी निरीक्षण भएको थिएन, हामीले ग-यौँ । अघिल्लो कार्यकालमा महालेखा परीक्षकले ६१ करोड बेरुजु देखाएको छ । बेरुजु फस्र्याेटका लागि विगतमा प्रयास पनि भएन तर हामीले बेरुजु फस्र्याेटका लागि समिति र अर्को जिन्सी निरीक्षण समिति बनाएर कामकाज गरिरहेका छौँ । केही दिनभित्रै यस पालिकाको कुन कुन कर्मचारीमाथि कति कति बेरुजु रकम छन्, कुन असुलउपर गर्नुपर्ने छ र कुन नियमित गर्नुपर्ने हो त्यो सार्वजनिक गर्ने छौँ ।
पालिकाको भावी योजना के छ ?
पाँच वर्षमा पूर्ण साक्षर घोषणा, पालिकामा पाइने शिक्षा निःशुल्क, सर्वसुलभ र गुणस्तरीय होस्, उच्च शिक्षाका लागि बाहिर जानु नपरोस्, हरेक खेतमा सिँचाइ पुगोस् र सबैले सर्वसुलभ रूपमा खेती गर्न सकून् र पालिकावासी पूर्ण निरोगी र स्वस्थ रहून् भन्ने हो । पालिका शिक्षित, स्वस्थ, सुखी र समृद्धि बनोस् भन्ने काममा लागिरहेका छौँ ।