• २ जेठ २०८२, शुक्रबार

सडकको खाल्डाखुल्डीले नागरिकलाई सास्ती

blog

राजविराज–हनुमाननगर सडक खण्डमा परेको खाल्डाखुल्डी । तस्विर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, असोज १८ गते । सप्तरीको राजविराज–हनुमाननगर सडक खण्डमा परेको खाल्डाखुल्डीले नागरिकलाई आवतजावतमा सास्ती भएको छ । जोखिम मोलेर यात्रुहरु यात्रा गर्न बाध्य छन् । 

सो सडकखण्ड दुई वर्षदेखि जीर्ण बन्दा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा बिरामी, चालक र यात्रु सास्ती खेप्न बाध्य भएका हुन् । सडकमा बनेका खाल्डाखुल्डीले साना ठूला सवारी साधनलाई आवतजावतमा सकस हुनेगरेको छ । 

हनुमाननगर र राजविराज जोड्ने छोटो दूरीको सडक जीर्ण बन्दा बिरामी, चालक तथा यात्रुले सास्ती खेप्नुपरेको इनरुवाका राहुल मण्डलको गुनासो छ ।     राजविराज–हनुमाननगर जोड्ने १२ किलोमिटर सडकको विभिन्न ठाउँमा गरी झण्डै ४ किलोमिटर अति जीर्ण अवस्थामा छ । 

सडक जिर्णका कारण २० मिनेटको बाटो तय गर्न करिब एक घण्टा  लाग्नेगरेको स्थानीय गजेन्द्र साहको भनाइ छ । सडकको दर्जनौं स्थानमा खाल्डा–खुल्डी परेकै कारण गाडीको पार्टपुर्जा पनि छिट्टै बिग्रिने र जोखिमपूर्ण यात्राले यात्रु पनि हैरान हुनेगरेको चालक रमेश मण्डलले बताउनुभयो ।  

सडक अति जीर्ण भएकाले आपतकालीन अवस्थामा रहेका बिरामीलाई सो सडक मार्गबाट विराटनगर र धरानका अस्पताल लग्न सास्ती हुनेगरेको एम्बुलेन्स चालक सुदीलाल साहले बताउनुभयो  ।

सडकमा अत्यधिक खाल्डाखुल्डी परेकै कारण २ घण्टामा विराटनगर र धरान पुग्ने सवारी साधन मुस्किलले ३ घण्टासम्ममा पुग्नेगरेको एम्बुलेन्स चालक घनश्याम यादवले बताउनुभयो  । 

 जीर्ण सडकले चालक, यात्रु तथा बिरामीलाई निम्त्याएको सास्ती अन्त्य गर्न अविलम्ब सो सडक खण्डको मर्मतसम्भार गर्न स्थानीयले माग गरेका छन् ।