• १३ साउन २०८१, आइतबार

नेपाल ईयूको सुरक्षा सूचीबाट छिट्टै हट्छ : पर्यटनमन्त्री किराती

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती । फाइल तस्बिर

काठमाडौँ, असोज १८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल युरोपेली सङ्घ (ईयू) को सुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री किरातीले ईयूको प्राविधिक टोलीले नेपालको हवाई सुरक्षा प्रणालीबारे ‘अडिट’ गरेर गएकाले नेपाल ईयूको सुरक्षा सूचीबाट हट्नेमा विश्वास व्यक्त गर्नुभयो ।

“नेपालको हवाई क्षेत्र ईयूको सुरक्षा सूचीबाट चाडै हट्नेछ । यही सेप्टेम्बर ११ देखि १५ सम्म ईयूको टोलीले अडिट गरेर गएको छ । प्राधिकरण विभाजनसम्बन्धी विधेयक पनि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमतिसहित मन्त्रिपरिषद्मा गएको छ”, पर्यटनमन्त्री किरातीले भन्नुभयो । ईयूको प्राविधिक टोलीले ‘अनसाइड अडिट’ गरेर गएको प्राधिकरणले जनाएको छ ।

ईयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो । नेपालले पछिल्लो पटक हवाई सुरक्षा दरमा वृद्धि गरेकाले ईयूको कालोसूचीबाट हट्ने मन्त्री किरातीको विश्वास छ ।

पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम पछिल्लो समय सञ्चालन नाफामा रहेकाले रु चार अर्ब ऋण तिर्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले निगमको ग्राउण्डेड वाई-१२ जहाज चलाउन पनि नसकिने र भाडामा लगाउन पनि समस्या रहेको तथा जहाज पार्किङ शुल्क र बिमाको रकम तिर्नुपर्ने समस्या रहेको भन्दै यो व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।

समितिका सभापति राजकिशोर यादवले निगमको विद्यमान कमजोर अवस्थालाई सुधार गर्न समितिले ताकेता गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले समितिले उपसमिति बनाएर निगमको विद्यमान कमजोर अवस्थामा पुर्‍याउनेको पहिचान गरी निगमको दीर्घकालीन हितका लागि उपयुक्त काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उक्त विषयमा समितिले आवश्यक परेमा छानबिन र अध्ययन गर्नुपर्ने बताउनुभयो । बैठकमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ । रासस