काठमाडौँ, असोज १७ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरू राष्ट्रका गौरव भएको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित ‘रातो टिकी’ बोलको गीत सार्वजनिक कार्यक्रममा उहाँले कलाकारितामार्फत कलाकारले देशको मान प्रतिष्ठा बढाउने काम गरेकाले उनीहरू देशको गौरव भएको स्पष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री खड्काले कलाकारको गीत/सङ्गीत र कलाकारितामार्फत सामाजिक चेतना फैलाउने कार्यमा विशेष योगदान रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “कतिपय खराब परम्परा बदल्न गीत/सङ्गीत र कलाकारिताको नेपाली समाजमा उल्लेख्य योगदान रहेको छ । महिलाको हक अधिकारको पक्षमा बोल्न र सामाजिक कुरीति तोड्न समेत कलाकारिताको ठुलो योगदान रहेको छ ।” उपप्रधानमन्त्री खड्काले सबै खाले कुरीति हटाउन, समाज रूपान्तरण र परिवर्तनका लागि गीत/सङ्गीत र कलाकारिताले ठुलो अस्त्रका रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यो सामाजिक कथामा आधारित गीत हो । यसमा एकल महिलाको कथा देखाइएको छ । परदेश गएको उनको श्रीमान् उतै अस्ताएपछि गाउँघरमा विधुवा जीवन व्यतीत गर्नु उनका लागि निकै कष्टकर हुन्छ । विगतमा श्रीमान् हुँदा उनलाई किनिदिएको रातो टीका र चुरा यादसहित श्रीमान्सँग मेलामा घुमेको क्षणको स्मरण गर्न पुगेको कथा भिडियोमा देखाइएको छ । कार्यक्रममा कलाकार दीपकराज गिरीले गीत सामाजिक दायित्व बोकेको र कर्णाली र सुदूरपश्चिम प्रदेशमा शिक्षाको अभावका कारण जनचेतना कम भएको अवस्थामा गीतले समाजलाई सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कलाकार दीपाश्री निरौलाले सामाजिक दायित्व बोकेर निस्केको गीत धेरै राम्रो भएको र सबैले मन पराउनेमा आफू आशावादी भएको बताउनुभयो । सामाजिक चेतना फैलाउने यस गीतमा सिने कलाकारहरू राजेश हमाल, दिलीप रायमाझी, निता ढुङ्गाना, केकी अधिकारीलाई प्रस्तुत गरिएको छ । यसको कोरियोग्राफीमा कविराज गहतराज र जिबी आग्रीको निर्देशन रहेको छ ।