काठमाडौँ, असोज १५ गते । चलचित्र ‘बालापन’ को प्रिमियर गरिएको छ । संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा राजधानीको चाबहिलस्थित चलचित्र विकास बोर्डमा चलचित्रको प्रिमियर गरिएको हो । कार्यक्रममा मन्त्री किरातीले चलचित्रले समाजमा देखिएको कुरालाई चित्रण गरेको बताउनुभयो । उहाँले आर्थिक विकासका लागि चलचित्र मेरुदण्ड रहेकाले यसको विकासमा सरकारको चासो रहिरहेको जनाउनुभयो ।
चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले चलचित्रले जस्तो सुकै विषय उठान गरे पनि अहिलेको अवस्थामा व्यावसायिक सफलताको खाँचो रहेको औँल्याउनुभयो । “चलचित्रलाई शुभकामनाले मात्र हुँदैन । त्यसभित्र चाहिने हरेक कुरा हुनु पर्छ । चलचित्र क्षेत्रमा नयाँ मान्छे आएनन् भने यो चलायमान हुँदैन,” उहाँले भन्नुभयो ।
शिव आरजीको निर्देशन रहेको चलचित्रमा सबिन श्रेष्ठ, प्रियङ्का कार्की, धिरेन शाक्य, सोनी बिसी, सुनील थापा, हट मिलन राईलगायतका कलाकारको अभिनय छ ।