• २ जेठ २०८२, शुक्रबार

सुन तस्करी प्रकरण : आयोग आजै गठन गर्न नेताहरू सकारात्मक

blog

काठमाडौँ,  असोज १४ गते । सुन तस्करी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच आज सकारात्मक छलफल भएको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामङ्गलमा करिब ६१ किलो सुन बरामद भएको थियो ।

आज हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमतिको तयारी भएको बताइएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको र आयोगको कार्यादेशमा आफूहरू सहमतिको नजिक पुगेको भेटमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

सत्तापक्ष र प्रतिपक्षबिच आयोग गठन गर्ने सहमति भए पनि सोको कार्यादेश र कार्यक्षेत्रबाट सहमति जुट्न बाँकी थियो । आयोग गठन नभए एमालेले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने चेतावनी दिएपछि सरकारले छलफल तीव्र बनाएको छ । रासस