चित्र मिजार
सिन्धुपाल्चोक, असोज १४ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लाइफलाइन मानिने बलेफी–जलबिरे–तेम्बाथान सडक पाँच वर्ष हुँदासमेत पूरा भएको छैन । १८ महिनाभित्र सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको उक्त सडकको स्तरोन्नतिको जिम्मा पाएको निर्माण कम्पनीले निर्धारित समयमा काम नसकेपछि स्थानीयले सास्ती भोगिरहेका छन् ।
बलेफी बजारदेखि तेम्बाथानसम्मको सडकको स्तरोन्नतिमा ठेकेदार पक्षले विभिन्न बहानामा ढिलासुस्ती गरेका कारण तोकिएको मितिभन्दा साढे तीन वर्षभन्दा बढी समय हुँदासमेत निर्माण कार्य अझै पूरा हुन नसकेको हो । बलेफीदेखि जलबिरेसम्मको १० किलोमिटर सडकको स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय चरीकोटले २०७५ सालमा ठेक्का लगाएको थियो ।
यो सडक स्तरोन्नतिका लागि तीन वटा निर्माण कम्पनीले छुट्टाछुट्टै रूपमा प्याकेजमा कामको ठेक्का लिएका छन् । स्तरोन्नतिका काम भइरहे पनि निर्माण कम्पनीले आफूखुसी मात्रै काम गर्दा समयमा काम सकिएको छैन । सडक चौडा गर्ने, पर्खाल लगाउने, ढलान गर्ने काम सकिए पनि पाँच वर्ष पुग्दासमेत कालोपत्रे गर्ने काम सुरुसमेत गरिएको छैन ।
जलबिरेदेखि जुगल–५, लप्सेसम्म १०.६३७ किलोमिटर सडक २०७५ साल चैतमा सडक पूर्वाधार विकास कार्यालय चौताराले ठेक्का लगाएको थियो । उक्त खण्ड १८ महिनामा स्तरोन्नतिसहित कालोपत्रे सक्नुपर्ने सम्झौता थियो तर अहिलेसम्म कालोपत्रे हुन सकेको छैन ।
जलबिरे–तेम्बाथान १० किलोमिटर सडक कालोपत्रेका लागि सडक पूर्वाधार विकास कार्यालयले २०७५ साल चैत १५ गते ठेक्का लगाएको कामको कन्ट्याक जेभीले ठेक्का पाएको थियो । २६ करोड ७५ लाख रुपियाँमा निर्माण कम्पनीले सम्झौता गरी काम सुरु गरेको थियो तर अहिलेसम्म कालोपत्रेको काम सकिएको छैन । उक्त खण्डको ठाउँ ठाउँमा पहिरो आएको छ । वर्षाको भलले नाली र सडक भत्केको छ । समयमा काम पूरा नगर्ने उक्त कम्पनीलाई सडक पूर्वाधार विकास कार्यालयले उल्टै समय थप गर्दै आएको छ ।
समयमा कालोपत्रे नहुँदा तेम्बाथानदेखि आउजाउ गर्ने यात्रुले कष्टकर यात्रा गर्न बाध्य हुँदै आएका छन् । दुई घण्टामा पुगिने कात्तिकेसम्म हिलाम्मे र ठाउँ ठाउँमा बिगे्रका सडकमा यात्रुले जोखिम मोलेर यात्रा गर्नु परेको छ । सडक डिभिजन कार्यालय चरीकोटले तत्काल सडकको काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आए पनि निर्माण कम्पनीले वास्ता नै गरेका छैन । बलेफीको टुनिबोटदेखि जलबिरेको बोक्से खोलासम्मका सडकखण्ड स्तरोन्नतिका लागि हालसालै निर्माण कम्पनीले ठेक्का सम्झौता गरी स्तरोन्नतिको काम गरिरहेको छ ।