• ९ मंसिर २०८१, आइतबार

युवामा पलायन मोह

blog

विगत लामो समयदेखि हाम्रो देशको मुख्य समस्या बेरोजगारी र गरिबी हो । बिदेसिनु, मुग्लान जानु वा लाहुर जानु हाम्रो परम्परागत विशेषता हो । जागिर खोज्ने क्रममा विदेशी सेना वा पल्टनमा भर्ती हुनु, भारत, बर्माका कोठीमा धाउनु हाम्रा बाध्यता थिए । आजको विश्वमा विज्ञान र प्रविधिको विकासका कारण सानो देश वा गाउँ जस्तै बनेको छ । जोसँग विदेश घुम्ने भिसा वा प्रवेशाज्ञा छ, उसका लागि विश्व नै सानो ठाउँ बनेको छ । आजको विश्वको आकर्षणको मुख्य केन्द्र नै अमेरिका, क्यानडा, अस्टे«लिया, युरोप र जापान अनि दक्षिण कोरिया बनेको छ । आजको युवा आफ्नो स्वर्णिम भविष्यको खोजीमा जस्तोसुकै खतरा मोल्न तयार छ । आजको युग पुँजीवादको युग भएकाले पनि मान्छे पैसा वा सम्पत्ति कमाउने होडबाजीमा डुबुल्की मारेको छ । आजको मान्छेको चिन्तन पैसाप्रधान र अरू सहायक हुन्छ । हामीले हाम्रो सामाजिक मनोविज्ञानलाई नियाल्यौ भने यस्तो लाग्छ, सबै मान्छे विदेश जान चाहन्छन् । यदि ठुला र धनी देशले भिसा खुला र सहज बनाइदिए भने हाम्रो अवस्था के होला ? अवस्था कहालीलाग्दो छ । 

अहिलेको युवा पुस्ता अध्ययन या कामदार भिसामा बाहिर जाने प्रवृत्ति बढ्दो छ । आजको सबैभन्दा चिन्ताको विषय विद्यार्थी वा अध्ययन भिसाको लहर हो । अर्को भाषामा भन्दा हाम्रो चुनौती भनेकै प्रतिभा पलायन वा ब्रेनड्रेन हो । आज प्रत्येक विद्यार्थी १२ कक्षासम्म मात्र नेपालमा पढ्न चाहन्छ र १२ पास गर्नासाथ विदेश पढ्ने तयारीमा हिँडेको देखिन्छ । हाम्रा विद्यार्थीले अध्ययन भिसासँगै ग्रिनकार्ड र पिआरको सपना बोकेका छन् । 

नेपाल त कहिलेकाहीँ चाडपर्वमा घुम्न आउने भूमिका रूपमा उनीहरूले प्रयोग गर्ने सपना बुन्दै छन् । यो विदेश पलायनको लहर वा तरङ्ग रोकिएन भने आगामी १० वा १५ वर्षपछिको अवस्था कस्तो होला ? कतै विदेश मात्र जान खोज्ने छोराछोरी जन्माएर हामीले गल्ती त गरेनौँ ? होइन भने आजभोलि त हामी पनि विदेश जान चाहने भएका छौँ । छोराछोरीसँगै विदेश गएर बुढेसकालमा आनन्द लिन पाए भन्ने लत हामीमा पनि लागेको छ । 

आजको बसाइँसराइको प्रवृत्तिलाई अध्ययन गर्ने हो भने गाउँमा अधिंकाश घर खाली भएका छन् । गाउँमा अधिकांश सरकारी विद्यालय र क्याम्पस खाली हुँदै छन् । सरकारी विद्यालयका भवन निर्माणमा राज्यको ठुलो लगानी भएको छ तर ती विद्यालयका कक्षाकोठा अहिले खाली छन् । गाउँबस्ती सङ्कटमा छन् । गाउँका खेतबारीमा बाँदर, दुम्सी, खरायो, हरिण र बँदेल जस्ता जनावरले आतङ्क गर्ने अर्को समस्या भएको छ । स्थानीय सरकारले वन्यजन्तु नियन्त्रण गर्न बजेट विनियोजन गर्नुपर्ने आजको आवश्यकता हो । सक्ने जति सहरमा वा तराईमा बसाइँसराइ गर्दै छन् । संसारकै सुन्दर र स्वर्ग जस्ता लाग्ने गाउँ खाली हुँदा हाम्रो मनमा पीडाबोध हुन्छ । सम्भावनाका हिसाबले वा साधन र स्रोतका हिसाबले सबैभन्दा धनी गाउँहरू अस्तित्वको सङ्कटमा छन् । अब त बुढाबुढी पनि गाउँ बस्न नचाहने अवस्था बन्दै छ । सुविधाको हिसाबले हेर्ने हो भने अहिलेको गाउँमा सबै खाले सुविधा उपलब्ध छन् तर पनि मान्छे त्यहाँ बस्न सक्दैन किन ? एउटै उत्तर छ, त्यहाँ आम्दानी, व्यापार वा रोजगारीका अवसर छैनन् । त्यस्ता गाउँ मानवविहीन अनि राज्य युवाविहीन बन्ने खतरा बढेको छ । पहाडी र हिमाली भूभाग मानवशून्य नहुन् भनेर राज्यको ध्यान जान जरुरी छ ।

प्रतिभा पलायनको खतरा 

हामीले देखिरहेका छौँ कि नेपालका अधिकांश स्नातक वा स्नातकोत्तर पढाइ हुने क्याम्पस सुक्ने र टाट पल्टिने क्रममा छन् । शिक्षा क्षेत्रमा लगानी गर्नेको आकर्षण भनेकै विद्यालय तहसम्म मात्रै हो । मुनाफा कमाउने भनेको विद्यालय शिक्षाबाट हो । स्नातक तहका कक्षा एकपछि अर्को भिसा लागेका विद्यार्थीलाई बिदाइ गर्दै प्रभावित हुन्छन् । नेपालमा पढेर वा बसेर भविष्य नै नदेख्ने आम सत्य जस्तै हुन थालेको छ । यसलाई तत्काल रोक्नु पर्छ, रोकिनु पर्छ । विदेश पढ्न जाने विद्यार्थीले भविष्यमा पिआर र ग्रिनकार्ड सुरक्षित गरेको हुन्छ । ऊ आफू मात्र जाँदैन परिवारलाई पनि लैजान सक्छ । भएको चलअचल सम्पत्ति पनि विदेश लैजाने वा तान्ने खतरा हुन्छ । त्यस कारण आज पढ्नका लागि गएको युवा कहिल्यै देश नफर्किने युवाका रूपमा परिणत भएको छ । त्यसो भए देशमा को बस्ने हो त ? उत्तर स्पष्ट छ, देशमा सरकारी जागिरे, बुढाबुढी र विदेश जान नसक्ने युवा । 

पलायनका कारण 

युवा विदेश जानुको मुख्य कारण के देशमा गुणस्तरीय शिक्षा नभएरै हो त ? होइन, देशमा शैक्षिक संस्थाहरूले गुणस्तरीय शिक्षा पनि दिएका छन् । हाम्रोमा उत्पादित डाक्टर, नर्स, इन्जिनियर, कृषि विज्ञहरू संसारभर खपत भएका छन् । मुख्य कारण हो यहाँ रोजगारी छैन । नेपालमा बसेर जागिर पाउनु त सबैभन्दा ठुलो भाग्यको कुरा हो । आफ्नो योग्यता क्षमता वा सिप अनुसारको जागिर नपाउनु नै नेपालको मुख्य समस्याको विषय भएको छ । सीमित जागिरमा पनि नातावाद, कृपावाद र भनसुन हावी छ । लोक सेवा आयोगको परीक्षाको अर्कै कथा छ । आठ/दस स्थानका लागि हजारौँ युवाले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । यो जाँगर अहिलेको युवामा छैन भने पनि हुन्छ । सरकारी सेवामा पनि एक खालको सिन्डिकेट छ । परीक्षा प्रणाली ज्यादै पुरातन र घोकन्ते विद्यामा आधारित छ । नयाँ पुस्ताको यसमा रुचि नै छैन । लोक सेवाले एकै प्रवृत्तिका वा घोकन्ते युवालाई मात्र आकर्षित गरेको छ । उसको प्रतिस्पर्धा वा मूल्याङ्कन प्रणालीमा बहुआयामिक पद्धति छैन । धेरैभन्दा धेरैलाई सरकारी क्षेत्रमा अवसर दिने नीति सरकारसँग छैन । एउटै व्यक्ति २५/३० वर्षसम्म रोजगारीमा रहिरहने पद्धति छ । धेरै कुरामा तत्काल सुधार गर्नुपर्ने अवस्था छ । 

युवालाई देशभित्रै आकर्षित गर्ने दोस्रो विधि हो स्वरोजगार । स्वरोजगारमा लगानी गर्ने राज्यको नीति नै छैन । कृषि, पर्यटन, जडीबुटीमा प्रशस्त अनुदान दिने हो भने नेपालमा राम्रो भविष्य बन्न सक्छ । उत्पादनमा राज्यको लगानी नै छैन । उत्पादन र वितरणमा राज्यको लगानी हुन आवश्यक छ । त्यस कारण आजको मुख्य प्रश्न यो छ कि के हामी युवालाई देशभित्रै आकर्षित गर्न सक्छौँ ? युवालाई देशभित्र आकर्षित गर्ने रणनीति बनाउनेतर्फ हामीले सोच्नु पर्छ । देशभित्र युवालाई प्रशस्त अवसर प्रदान गर्ने रणनीतिको आवश्यकता छ । यसका लागि पहिलो कुरा देशभित्रै रोजगारीको ग्यारेन्टी गर्न सक्नु पर्छ । 

हामीले आकर्षक रोजगारीको व्यवस्था गर्न सकेमा यो समस्याको आधा हल हुन्छ । दोस्रो हामीले युवालाई स्वरोजगार योजना दिन सक्नु पर्छ । उत्पादन वा स्वरोजगारका लागि सरकारले आवश्यक ऋण वा अनुदान दिन सक्नु पर्छ । उत्पादित सामानलाई किन्ने जिम्मा सरकारले लिनु पर्छ । कृषि पर्यटन उद्योगमा सरकारले ठुला ठुला रोजगारमूलक कार्यक्रम विकास गर्न सक्छ । देशभित्रै बन्ने उद्योग जस्तै, हाइड्रोपावर, केबुलकार, सिमेन्ट आदिमा युवालाई निश्चित सेयर दिने नीतिको विकास गर्न सकिन्छ । ठुला ठुला सरकारी बजेट खर्च हुने परियोजनामा सरकारले नै युवालाई परिचालन गर्न सक्नु पर्छ । युवालाई देशभित्रै रोजगारी र आम्दानीको ग्यारेन्टी राज्यले गर्न सक्नु पर्छ । 

  

Author

विष्णुप्रसाद पन्थ