राममणि दाहाल
हेटौँडा, असोज ११ गते । खानेपानीको महँगो शुल्क तिर्दैआएका हेटौँडा उपमहानगरपालिका १८ स्थित बड्कुलेका बासिन्दाले अब निःशुल्क खानेपानी उपभोग गर्न पाउने भएका छन् ।
मौडीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत सञ्चालन हुँदै आएको खानेपानी योजना बिहीबार एक कार्यक्रमबीच हेटौँडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेसँगै निःशुल्क खानेपानी पाउने भएका हुन् ।
बड्कुलेका १०४ घरपरिवारले खानेपानीको प्रयोग गर्दैआएको खानेपानी योजना बोर्डलाई हस्तान्तरण गरेसँगै स्थानीय बासिन्दाले १० हजार लिटरसम्म पानी निःशुल्क उपयोगको सुविधा पाउने भएका छन् । खानेपानी योजना बोर्डमा हस्तान्तरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले स्थानीय सरकार भएको अनुभूति दिलाउन र सरकारको नागरिकप्रतिको दायित्व पूरा गर्न खानेपानीमा सुविधाको व्यवस्था गरिएको बताउनुभयो ।
मौडीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र घलानको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई योजना हस्तान्तरण गरिएको थियो । २०५८ बाट सञ्चालन भएको मौडीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानीको प्रयोग गर्दैआएका बड्कुलेका बासिन्दाले १० हजार लिटर पानीको प्रयोगबापत यसअघि मासिक ६५० रुपियाँ तिर्दैआएका थिए ।
समितिका अध्यक्ष घलानले कर्मचारी, विद्युत् र मर्मत शुल्क गरेर खानेपानीको लागत महँगो भएको बताउनुभयो । उहाँका अनुसार समितिले चार हजार लिटर पानी बापत मासिक २५० रुपियाँ न्यूनतम शुल्क लिँदैआएका थियो ।
मौडीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको खानेपानी योजना हेटौँडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिँदै ।