• १ जेठ २०८२, बुधबार

महिला उद्यमीको कोसेली घर

blog

बुटवल समाचारदाता

बुटवल, असोज ११ गते  । महिला उद्यमीहरूले उत्पादन गरेका स्थानीय हस्तकलाका सामान सुपथ मूल्यमा बिक्री गर्ने गरी बुटवलमा नयाँ कोसेली घर सञ्चालनमा आएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको भवनमा सञ्चालन गरिएको कोसेली घरमा स्थानीय हस्तकलाका सामानहरू बिक्रीका लागि राखिएको हो । 

कोसेली घर सञ्चालनका लागि स्थान तथा त्यसको व्यवस्थापन उद्योग वाणिज्य सङ्घले गरेको छ भने सञ्चालनको जिम्मेवारी स्थानीय उद्यमी निर्जला थापाले लिनुभएको छ । 

त्यस्तै कोसेली घरमा विद्युत् तथा पानीको व्यवस्थापन सङ्घले नै मिलाएको कोसेली घरका संयोजक तथा बुटवल उद्योग वाणिज्य सङ्घकी कार्यसमिति सदस्य जमुना पौडेलले बताउनुभयो । कोसेली घरको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरजकृष्ण वैद्य तथा सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजू र प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सोमबार उद्घाटन गर्नुभएको हो । 

कोसेली घर उद्घाटन कार्यक्रममा महासङ्घका वाणिज्य उपाध्यक्ष वैद्यले कोसेली घर स्थापनाले यस क्षेत्रको महिला उद्यमशीलतामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अझै पनि मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार तयार हुँदैन भने उद्योग व्यवसायी सडकमा आउनुको विकल्प नभएको बताउनुभयो ।

उहाँले उद्योग व्यवसायमा सङ्कटकालको स्थिति रहेको बताउँदै साना ठुला सबै उद्योगी व्यवसायीलाई आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । वैद्यले भन्नुभयो, “करको दायरा मात्रै होइन दर पनि वृद्धि भएको छ, बैङ्क ब्याज उच्च छ, व्यापार व्यवसायमा मन्दी आएको छ ।” 

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले मुलुकको आर्थिक अवस्थाका कारण उद्योगी व्यवसायी मारमा परेको बताउनुभयो । उहाँले व्यापार व्यवसायमा आएको मन्दीले कतिपय व्यापारी तथा उद्योगी पलायन भइसकेको र कतिपय पलायन हुने स्थितिमा रहेको भन्दै यसमा गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो । 

उहाँले महिला उद्यमीको उद्यमशीलता विकास तथा उत्पादित वस्तुको बजारको पहुँच बढाउनका लागि कोसेली घर सञ्चालन गरिएको पनि अध्यक्ष कसजूले बताउनुभयो । लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, महासङ्घकी सदस्य तथा महिला समितिकी सभापति कमला श्रेष्ठ, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्याल, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठलगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।