काठमाडौँ, असोज १० गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल जस्तो अल्प विकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायता उपलब्ध गराउन आह्वान गर्नुभएको छ । इजिप्टको सार्म अल सेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैङ्कको बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा बिजिनेस राउन्ड टेबुलमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
अर्थमन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकका लागि सहुलियतपूर्ण सहायता संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गर्नुभएको हो ।
डा. महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवं नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको धारणा राख्नुभयो । उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लगायतका निकायको भूमिका महत्वपूर्ण रहने अपेक्षा गर्नुभयो ।
खास गरी विकासशील सदस्य राष्ट्रका पूर्वाधार विकासका लागि धेरै वित्तीय स्रोतको आवश्यकता रहेको उल्लेख गर्दै मन्त्री हाल प्रचलित वित्तीय सहायता संयन्त्र एवं उपकरण पर्याप्त नहुने यथार्थ इङ्गित गर्दै अर्थमन्त्री डा. महतले सो क्षेत्रमा नवप्रवर्तनको आवश्यकता रहेको तथ्य औँल्याउनुभयो । खास गरी विकासशील मुलुकका लागि वित्तीय साधनस्रोतको अभाव हुन नदिनका लागि बैङ्कले सार्वजनिक निजी साझेदारी, हरित बन्ड, सम्मिश्रित वित्तलगायतका नवीन तथा सिर्जनशील उपकरणको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्बन उत्सर्जनमा खासै भूमिका नरहेका तर जलवायु परिवर्तनको अत्यधिक असर र प्रभाव भोगिरहेका नेपाल र यस्तै अन्य विकासशील मुलुकका लागि जलवायु वित्त तथा सो सम्बद्ध सुविधा वृद्धिमा समेत उहाँले जोड दिनुभयो । एआइआएबीको आठौँ वार्षिक बैठकका अवसरमा आयोजित जलवायु परिवर्तनबाट सिर्जित समस्या सम्बोधनको उच्च आकाङ्क्षा र सोका लागि अपेक्षित जलवायु वित्त परिचालनसम्बन्धी छलफलमा समेत अर्थमन्त्री महत प्यानेलिस्ट वक्ताका रूपमा सहभागी हुनुभयो ।
मन्त्री डा. महतले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित मुलुक रहेको विषयमा फेहरिस्त प्रस्तुत गर्दै सोबाट उत्पन्न समस्या तथा चुनौतीका बारेमा प्रकाश पार्नुभयो । समस्या सिर्जनामा खासै भूमिका नरहेका नेपाल जस्ता विकासशील मुलुकको चुनौती सामनाका लागि बढी कार्बन उत्सर्जन गर्ने विकसित एवं ठुला अर्थतन्त्रले जलवायु परिवर्तनको समस्या सम्बोधनका सम्बन्धमा गरेका प्रतिबद्धता पूर्ण रूपमा पालना गर्नुपर्नेतर्फ उहाँले विशेष जोड दिनुभयो ।
सो अवसरमा अर्थमन्त्री डा. महतले कार्बन व्यापारको मूल्य पुनरवलोकन गर्न जरुरी रहेकामा पनि सबै सहभागीको ध्यानाकर्षण गराउनुभएको थियो । बैठकमा बैङ्कका ८६ सदस्य राष्ट्रको सहभागिता रहेको थियो ।