• २ माघ २०८१, बुधबार

१९औं एसियाड : जुडोमा नेपालको यात्रा समाप्त

blog

जुडोमा प्रतिस्पर्धा गर्दै नेपालका खेलाडी । तस्बिर : सौजन्य राजेन्द्र चित्रकार

हाङझाउ, असोज ९ गते । १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत जुडो खेलमा नेपालको यात्रा सकिएको छ । जुडोमा  नेपालबाट सहभागी आठ खेलाडीमा आठै जनाले हार खेप्नुभयो । 

विकास विकले भने अन्तिम ३२ को एक खेल जित्नुभएको थियो । जियोसन लिन्पु जिम्न्याजियममा मंगलबार नेपालका दुई खेलाडी पराजित भएसँगै नेपालको यात्रा सकिएको हो । पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित हुनुभयो । 

उहाँलाई काजाकिस्तानका क्रिकबे गालिमजानले एक मिनेट ७ सेकेन्डमा हराउनुभयो । यस्तै महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा पराजित हुनुभयो । आकृति म्याटमा मात्र २७ सेकेन्ड टिक्नुभएको थियो । 

तेक्वान्दोमा नेपालका तीन खेलाडी पराजित

एसियाड अन्तर्गत चौथो दिन नेपाली तेक्वान्दो खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन । खराब प्रदर्शनलाई निरन्तरता दिने क्रममा मङ्गलबार नेपालका तीन खेलाडी पराजित हुनुभयो । 

लिलान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आले पुरुष ६३ केजीमुनी अन्तिम ३२ को खेल जिते पनि अन्तिम १६ मा पराजित हुनुभयो ।

उहाँले अन्तिम ३२ मा टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गर्नुभएको थियो । 

तर अन्तिम १६ को खेलमा उहाँ थाइल्याण्ड बानलुङ टुबतिम्दाङसँग २-० ले पराजित हुनुभयो । मङ्गलबारै भएको महिला ५३ केजीमुनिको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २-० ले  पराजित हुनुभयो ।

महिला ५७ केजीमुनि अन्तिम १६ कै खेलमा सन्ध्याकुमारी सिंह लाइतितिए आउनसँग २-० ले स्तब्ध हुनुभयो । एसिायड तेक्वान्दोमा यसअघि चार खेलाडी बाहिरिइसकेका छन् ।

पौडीमा अनु हिटबाटै बाहिर

एसियाड अन्तर्गत मङ्गलबार भएको पौडीको महिला सय मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तण्डुकार हिट चरणबाटै बाहिरिनुभएको छ । हाङझाउ स्पोर्ट्स सेन्टरस्थित पौडी पोखरीमा भएको तण्डुकार समग्रमा २५औं स्थानमा रहनुभयो ।

यस स्पर्धामा ३० खेलाडीले प्रतिस्पर्धा गर्नुभएको थियो । तण्डुकारले निर्धारित दूरी एक मिनेट ०३.१७ सेकेन्डमा पूरा गर्नुभयो ।