• २० असोज २०८१, आइतबार

देउडा महोत्सव सम्पन्न

blog

हुम्ला समाचारदाता

हुम्ला, असोज ९ गते । ठकुरी समुदायले मनाउने गौरा (दुवाटु) को अवसरमा आयोजित जिल्लास्तरीय देउडा महोत्सव सम्पन्न भएको छ । महोत्सवको अवसरमा महिला तथा पुरुषले प्रतिस्पर्धाबिनै देउडा गीत गाएर सम्पन्न भएको हो । 

खार्पुनाथ गाउँपालिका–५ को आयोजनामा देउडा महोत्सव आयोजना गरिएको वडाध्यक्ष भरतजङ्ग शाहीले बताउनुभयो । गौरा पर्वको बेला महिला, पुरुष मिलेर देउडा गीत पनि गाउने भएका कारण यसको संरक्षण र प्रवर्धनका लागि महोत्सव नै आयोजना गरिएको उहाँले बताउनुभयो । जिल्लामा देउडा गायनमा ख्याति कमाउनुभएका देउडा गायकले दुई दिन लगातार देउडा गाउँदै नाच्नुभएको थियो । 

उहाँले पछिल्लो समय गौरा पर्वमा देउडा गाउन कम भएको महसुस भएपछि पर्व सकिएलगत्तै महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमा पुरुषमा भानुभक्त जैसी र मनराज शाहीको समूहले देउडा गाएको थियो भने महिलामा विपना शाही र राधिका शाहीको समूहले गाएको थियो । दुवै दिन पाँच पाँच घण्टासम्म लगातार गाउनुभएको थियो । यसका लागि जिल्लाका सातमध्ये पाँच वटा गाउँपालिकाका दर्जनभन्दा बढी गाउँका देउडा पारखीले देउडा गाउनुभएको थियो । महोत्सवमा आर्थिक र अन्य व्यवस्थापन वडाले गरेको हो । देउडा गायक भानुभक्त जैसीले यसरी बेला बेलामा कार्यक्रमको आयोजना गरे देउडाको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।